AArya
RUMPUM
animated ellipse animated ellipse

धितोबापत राखेको सुन फिर्ता गराउँन पीडितहरूको माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ कार्तिक २०७६, बुधबार १९:५९
3
Shares

विराटनगर / बुढीगंगा गाउँपालिकामा एक सुन व्यापारीले धितोबापत राखेको सुन फिर्ता नदिएको भन्दै पीडितहरूले न्यायको माग गरेका छन् ।

सुन धितोमा राखेर लिएको ऋण तिरी सक्दा पनि सुन फिर्ता नपाएको बुढीगंगा–२ का ११ जना पीडितहरूले विराटनगरमा आज पत्रकार सम्मेलन गरी आफ्नो सुन फिर्ता गराउन माग गरेका हुन् ।

बुढीगंगा –२ मा गणेश लक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएका जितेन्द्र साहले स्थानीयवासीको चार आनादेखि ६ तोलासम्म धितोमा राखेको सुन फिर्ता नगरेको उनीहरुको भनाई छ । ज्वेलर्स सञ्चालक साहले स्थानीय ११ जनाको चार आनादेखि ६ तोलासम्म धितोमा राखेको सुन फिर्ता नदिएको पीडितहरूले बताएका छन् । लिएको ऋण तिरी सकेर सुन फिर्ता माग्दा पनि नदिएपछि स्थानीय आक्रोशित भएका हुन् ।

पिडित विराटनगर–४ की नन्दा शर्मा नेपालले ६ तोलाको सुन धरौटीमा राखेर लिएको रकम सबै तिरेर भाखा नाघिसक्दापनि साहले सुन फिर्ता नदिएको बताईन् । नेपालले जितेन्द्र साह सँग ६ तोला सुन राखेर १ लाख ३० हजार लिएकी थिइन् । उनको सुन पनि साहले फिर्ता दिएका छैनन् । साहले आफ्नो खातामा पनि सुनको विवरण बिगारेर भरेको नेपालले बताइन् । साहले उनको ६ तोला सुनको दिएकोमा ५ तोला १२ आना सुन लिएको विवरण उल्लेख गरेको उनले बताइन् ।

लिएको ऋण तिरी सकेर सुन फिर्ता माग्दा पनि साहले पटकपटक भाका राखेर अल्झाएको पीडितमध्येका उमेश यादवले बताए ।

सुन फिर्ता नगरी साह भागेपछि पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । उजुरीपश्चात पनि प्रहरीले साहलाई पक्राउ गर्न ढिलासुस्ती गरेपछि उनीहरू आफैँले गत भदौमा धनकुटाबाट नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए । जिल्ला प्रहरी कार्यालयले अदालतमा मुद्दा बुझाएपछि जिल्ला अदालत मोरङले साहलाई २ लाख ५० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो ।

साहले फिर्ता नगरेको सुन १० लाख ३२ हजार मूल्यबराबरको रहेको पीडितहरुले बताएका छन् । साहले २ देखि ३ प्रतिशतसम्म ब्याज लिने गरेको उनीहरूले बताएका छन् । अदालतबाट आफूहरूले न्याय पाउन नसकेको पीडितहरूको भनाइ रहेको छ ।

साहले सुन पसल सञ्चालन गरेको घरधनी पनि ठगिएका छन् । साहले घरधनी खड्गबहादुर श्रेष्ठलाई विभिन्न नक्कली सुनका गहना दिएर १ लाख ४० हजार ठगी गरेको आरोप छ । साहले आफूलाई नक्कली सुनका गहना दिएर पटक–पटक गरी एक लाख ४० हजार रुपैयाँ ठगी गरेको श्रेष्ठले बताएका छन् ।

सुन व्यवासायसँगै मिटरव्याजको कारोवार गर्ने साहले प्रहरीलाई दिएको बयानमा पीडितहरूको सुन फिर्ता नदिएको स्वीकार गरेका छन् । साहबाट पिडित हुनेहरुमा बुढीगंगा गाउँपालिकाका दीपा तिम्सिना, दौपति राय, कल्पना साह, अस्मिता भुजेल, सिद्धिलाल चौधरी, सुमित्रा चौधरी, राधा राजवंशी र आशा गुरुङको सुन साहले फिर्ता नदिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर