CLASSICTECH NET

इँट्टा उद्योगमा बेटर ब्रिकको परियोजना प्रभावकारी बन्दै

खबर पूर्वाञ्चल, ९ आश्विन २०७६, बिहीबार १५:४८

विराटनगर / एकीकृत हातेमालो समाज नेपालको साझेदारीमा मोरङका इँट्टा उद्योगमा सञ्चालित बेटर ब्रिक नेपाल परियोजना प्रभावकारी बन्दै गएको छ ।

ग्लोवल फेयरनेस इनिसियटिभको प्राविधिक र आर्थिक सहयोगमा सन् २०१६ देखि मोरङको रंगेली–३ र धनपालथान–६ मा अवस्थित दुईवटा इँट्टा उद्योगमा परियोजना सञ्चालित छ । परियोजना सञ्चालन भएपछि इँट्टा उद्योगमा पूर्ण रूपमा बालश्रमको अन्त्य भएको छ । उद्योगमा कार्यरत मजदुरका छोराछोरीलाई लक्षित गरी उद्योगभित्रै प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्र सञ्चालनमा ल्याइएको छ ।

केन्द्रमा १ सय ९२ जना बालबालिकाले सुरक्षित वातावरणमा सिक्ने, खेल्ने र खाजाको सुविधा पाएको परियोजनाकी फिल्ड कोर्डिनेटर सुनिता ताम्राकारले जानकारी दिइन् । बाल विकास केन्द्रका बालबालिकालाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको छ । यस्तै ४ सय ७३ जना कामदार तथा नाइकेहरूलाई बेटर ब्रिक नेपाल परियोजनाको महत्व, बालश्रम निवारणसम्बन्धी तालिम दिइएको ताम्राकारको भनाइ छ । अन्य तालिम पनि सञ्चालन भइरहेको उनको भनाइ छ । बालश्रम, बाध्यकारी श्रम नपरेको स्वच्छ र सफासहित मानवीय संवेदनाले भरिएको इँट्टा उत्पादनमा परियोजनाले काम गरिरहेको छ । घर, भवन, सडकका नाला, कार्यालय सबै संरचना निर्माणमा इँट्टाको प्रयोग गरिन्छ ।

“खुसी र सुखी श्रमिकले उत्पादन गरेको इँट्टा प्रयोग गर्नुपर्छ भन्ने मुख्य परियोजनाको थिम हो,” ताम्राकारले भनिन्, “त्यसैले बालश्रम, इच्छाविपरीत तथा जबरजस्ती श्रम, अमानवीय व्यवहारलगायत नभएको इँट्टा उत्पादनमा हाम्रो जोड हो ।”

इँट्टा उद्योगमा श्रम सम्बन्धित चुनौतीहरूको सम्बोधन गर्न २०१३ बाट बेटर ब्रिक नेपाल परियोजना सुरु भएको हो । परियोजनाले सफा इँट्टा उत्पादनमा सहजीकरण र बजारको प्राथमिकता सिर्जना गर्ने काम गर्दछ । उद्योगहरूलाई प्राविधिक सहयोग र बजारमा पहुँच सिर्जना गरी लाभान्वित गरिन्छ । जसबाट सफा इँट्टाका उपभोक्ताहरूलाई सामाजिक तवरले उत्तरदायी र उच्च गुणस्तरयुक्त इँट्टा उत्पादनको प्रत्याभूत गरिन्छ । परियोजनाले ४० वटा इँट्टा उद्योगमा काम गरिरहेको छ । हातेमालोले भने मोरङ, भक्तपुर र काठमाडौंका ५ वटा उद्योगमा काम गरिरहेको समाजका अध्यक्ष डिल्लीराम गिरीले बताए ।

कामदार, उद्योगी र नाइकेबीच त्रिपक्ष्ीाय श्रम सम्झौता गर्न सहयोग, इँट्टा उद्योगमा कार्यरत कामदारका ५ वर्षमुनिका बालबालिकाहरूलाई बाल विकास तथा शिक्षा केन्द्र स्थापना गरी सुरक्षित वातावरणको व्यवस्था गर्ने तथा ६ देखि १४ वर्षका बालबालिकालाई नजिकको विद्यालय भर्ना, इच्छाविपरीत तथा करकापपूर्ण काम र बालश्रम निवारण, उद्योग परिसरमा कामदारहरूको लागि आवश्यक आवास, स्वास्थ्य सरसफाई तथा खानेपानी तथा सुरक्षाको सम्बन्धमा कामदारहरूलाई सचेत गर्दै उचित व्यवस्थापनका लागि पहल, गुनासो सुनुवाई समिति, कामदार समिति गठन गरी कामदारका समस्याहरूलाई समाधानका लागि पहल, उद्योगका उद्योगी, नाइके तथा कामदारहरूलाई परियोजनाको महत्व सिद्धान्तहरू र बालश्रम निवारणसम्बन्धी तालिमहरू सञ्चालन गर्नु परियोजनाको उद्देश्य रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५