पूर्वाञ्चल खबर
प्रदेशसभा बैठक समापनका क्रममा बुधबार नेकपा संसदीय दलको तर्फबाट सम्बोधन गर्दै मन्त्री कार्कीले केही कानून निर्माणमा सहमतिको प्रयास सफल नभएको भएपनि आगामी दिनमा समझदारीका साथ अघि बढ्ने र कमजोरी दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरे । प्रदेशको नयाँ संरचनाको अभ्यासमा प्रदेशसभामा रहेका सबै दलहरु एउटै डुंगामा रहेकोले सहकार्य तथा सहमतिको साथ यसलाई अगाडि बढाउनुपर्ने मन्त्री कार्कीको भनाइ थियो ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले ३८ वटा कानून निर्माण भएपनि ती कानूनहरु लागू नभएको टिप्पणी गरे । उनले सत्तापक्षले आफ्नो हितमा मात्र सहमति खोज्ने गरेको अनुभूति गरेको र सुरुवातदेखि नै सहमति तोड्ने प्रयास गरिरहेको भन्दै आलोचना गरे । मनमोहन प्राविधिक विश्वविद्यालय सम्वन्धी विधेयक रातारात पास गर्नैपर्ने वाध्यतामाथि प्रश्न गर्दै कोइरालाले केही समय थाँती राखेर परिवक्वरुपमा अघि बढाउँदा उपयुक्त हुनेतर्फ सत्तापक्षले ध्यान नदिएको आरोप लगाए ।
समाजवादी पार्टी नेपालका नेता जयराम यादवले चाडबाडको समयमा विराटनगर बजार अस्तव्यस्त भएकोप्रति प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । उनले महानगरको नेतृत्व फरक दलको भएकै कारण प्रदेश सरकारले आवश्यक सहयोग नगरेको हो भने त्यसले राम्रो नगर्ने भन्दै ध्यानाकर्षण समेत गराए । उनले सरकारले पूर्णता नपाएकोप्रति पनि मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।
चौथो अधिवेशनको ५४ औं तथा अन्तिम अधिवेशनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्वाहाम्फेले प्रदेश सरकार विपक्षीलाई पेल्नैपर्छ भन्ने मानसिकताबाट अघि बढेको र यसले सहि ठाउँमा नपु¥याउने चेतावनी दिइन् । उनले प्रदेश सरकारका मन्त्रीहरु अर्को चुनाव जित्ने अभियानमा लागेर बजेट केन्द्रीकरण गरेको भन्दै नेताले अर्को पुस्ता हेर्नुपर्छ अर्को चुनाव हैन भन्दै विरोध गरिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी इन्दिरा राईले भने सरकारले लिएको बाटो र कार्यक्रम सहि भएकोले आफ्नो समर्थन रहेको बताइन् ।
संसदको अन्तिम बैठकमा प्राकृतिक स्रोत तथा भौतिक पूर्वाधार समितिका सभापति सर्वध्वज साँवाले समितिको वार्षिक प्रतिवेदन पेश गरे ।