पूर्वाञ्चल खबर
प्रदेशसभाको चौथो अधिवेशनबाट १४ वटा विधेयकहरु पारित भएका छन् । अधिवेशनले प्रदेश लोकसेवा आयोग, प्रदेश सवारी तथा यातायात, मनमोहन प्राविधिक विश्वविद्यालय, सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण, प्रदेश स्वायत्त संस्था गठन, प्रदेश जाँचबुझ तथा अनुसन्धान आयोग, विपद व्यवस्थापनका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकलगायत महत्वपूर्ण विधेयक पारित गरेको छ । यो अधिवेशनबाट ५ वटा ऐन संशोधन गरिएका छन् ।
प्रदेशसभामा पेश भएका १४ वटा विधेयकमध्ये ८ वटा विधेयकका अन्तरवस्तुमाथि सम्वन्धित विषयगत समितिमा छलफल गरिएको थियो । चौथो अधिवेशन अन्त्य हुँदा समितिमा कुनैपनि विधेयकहरु बाँकी नरहेको प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए ।
प्रदेशसभाबाट अहिलेसम्म ४३ वटा विधेयक पारित भएका छन् । ५ वटा संशोधन विधेयक घटाउँदा प्रदेशसभाले ३८ वटा कानून निर्माण गरिसकेको छ । २०७४ माघ १० गते पहिलो बैठक बसेको प्रदेशसभाबाट मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बाहेक सबै विधेयकहरु सहज रुपमा पारित भएका छन् । विश्वविद्यालय सम्वन्धी विधेयक भने प्रतिपक्षको विरोध र नाराबाजीबीच पारित भएको हो ।
प्रदेशसभाको चौथो अधिवेशनको अन्त्य गर्दै सभामुख भण्डारीले सहमति र सर्वसम्मतिको अभ्यास गर्दै आएको भएपनि अन्तिममा केही असहमति देखिएको बताउनुभाये । तर, त्यो पनि संसदीय अभ्यासकै प्रक्रिया रहेको भन्दै उहाँले प्रदेशको नामांकन पनि सहमतिमा टुंगो लगाउने विश्वास व्यक्त गरे ।
प्रदेशसभाको यो अधिवेशनमा भीम आचार्य, टंक आङ्बोहाङ्, तेजमान कन्दङ्वा, प्रतापप्रकाश हाङ्गामलगायतका प्रदेशसभा सदस्यहरु १० वटाभन्दा बढी बैठकमा अनुपस्थित हुनुभएको छ । सभामुख भण्डारीले उहाँहरु १० वा सोभन्दा बढी बैठकमा उपस्थित हुन नसक्ने पूर्वसूचना आपूmलाई दिएको जानकारी गराए ।