पूर्वाञ्चल खबर
विराटनगर / आज दिउँसो साढे ३ वजेदेखि राधाकृष्ण मन्दिर विराटनगरबाट ऐतिहासिक राधाकृष्ण रथयात्रा विशेष पूजापाठ गरेर निकालिएको ५२औं राधाकृष्ण रथयात्रामा भक्तजनहरुको भीड देखिएको छ ।


कृष्णजन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा हजारौं भक्तजनहरुको सहभागिता रहेको देखिएको । रथयात्रा शुरु हुनु पूर्व रथयात्रा तय गर्ने रुटमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।


रथयात्रामा नेपालको विभिन्न शहरसहित भारतको बिहारबाट हजारैं भक्तजनहरूको सहभागि रहेको छ । उक्त रथयात्रा एसिया महादेशकै सबैभन्दा ठूलो जगन्नाथपुरी पछिको दोस्रो ठूलो रथयात्राको रूपमा चिनिने गरेको छ । रथयात्राको सुभारम्भ प्रदेश १ का प्रमुख गोबिन्दबहादुर तुम्बाहाङ र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संयुक्त रुपमा बेलुन उडाएर गरेका थिए ।

विसं १९८८ बाट खट (युगल मूर्तिलाई खाटमा राखेर)यात्राको रुपमा सुरु भएको यात्रा विसं २०२५ देखि रथयात्राको रुपमा परिणत भएको हो ।


सुनौलो रंगको पैगोडा शैलीको २२ फिट लम्बाई, १४ फिट चौडाई र १८ फिट उचाइको रथलाई सिंगारेर राधाकृष्णको मूर्ति राखिएको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट लम्वाईका दायाँ र बायाँ पट्टि फैलिएका लठ्ठा(डोरी) रहनेछ । दायाँ पट्टिको लठ्ठामा पुरुष भक्तजन र बायाँ पट्टिको लठ्ठामा महिला भक्तजनहरुले लठ्ठा समाई रथ सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । डोरीभित्र छिरेर भक्तजन, श्रद्धालुलाई पूजापाठ गर्न रोक लगाइएको छ । रथको अगाडि विभिन्न जातजाति, धर्म, सांस्कृतिक झाँकी छन् । बजार क्षेत्रको सडक मर्मत नभएका कारण रथ तान्न असहज भएको भक्तजनहरुले बताएका छन् ।





युगल जोडी भगवान् श्रीराधाकृष्ण विराजमान रथ मन्दिरबाट प्रारम्भ भई मेनरोड हुँदै महेन्द्र चोक, धरान रोड, वरगाछी हुँदै पुनः मन्दिरसम्म सात किमीको दूरी पार गर्न ४ः३० घण्टा समय लाग्ने रथयात्रा समितिका अध्यक्ष बाबुराजा ओझाले बताए ।


सम्भावित दुर्घटना नियन्त्रणका लागि ड्रोनबाट सुरक्षा निगरानी गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार रथयात्राको सुरक्षाका लागि एक हजार ७ सय प्रहरी परिचालन गरिएको छ ।
रथयात्राको अवसरमा बजारका विभिन्न स्थानमा स्यवसेवकहरु परिचालन र विभिन्न संघसंस्थाहरुले निःशुल्क पानी, सर्वत र प्रसाद वितरण गरिरहेका छन् । रथयात्रामा सहभागी हुन विराटनगरमा अहिले जनसागर उर्लिएका छन् ।






तस्वीरहरु पुष्पराज थपलिया /खबर पूर्वाञ्चल