पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज साँझमा अमेरिका प्रस्थान गरे ।
असार २० देखि २२ गतेसम्म अमेरिकाको बाल्टिमोरमा हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथीको रुपमा मुख्यमन्त्री राई अमेरिका प्रस्थान गरेका हुन् । प्रदेश १ सरकारको सिफारिस र संघीय सरकारको स्वीकृत बमोजिम मुख्यमन्त्री राई अमेरिका प्रस्थान गरेका हुन् । अमेरिकाको उक्त कार्यक्रममा मुख्यमन्त्री राईले गैर आवासीय नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मुख्यमन्त्री राईले प्रदेश १ को विकास प्रक्रियाका बारेमा सो कार्यक्रममा सम्बोधन गर्नुका साथै गैर आवासीय नेपालीहरुको भूमिकाको विषयमा समेत धारणा राख्नेछन् । प्रदेश १ सरकारले भर्खरै नीति तथा कार्यक्रम र बजेट ल्याएसँगै मुख्यमन्त्री राईको यो अमेरिका भ्रमणलाई निकै अर्थपूर्ण हिसाबले हेरिएको छ । नीति कार्यक्रम र बजेटमा प्रदेश सरकारले लगानी सम्मेलन गर्ने जनाएको छ । उक्त लगानी सम्मेलनबारे पनि मुख्यमन्त्री राईले अमेरिकामा रहेका नेपालीहरूसँग छलफल गर्नु हुनेछ । यसअघि यो कार्यक्रममा भाग लिन नेपालका विशिष्ट व्यक्तित्वहरू सहभागी भइसकेका छन् ।
सम्मेलनको आयोजना अमेरिकामा रहेका नेपाली चार संस्था एसोशिएसन अफ नेपालीज इन दि अमेरिका, एसोशियसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका, अन्तर्रा्ष्ट्रिय साहित्य समाज र बाल्टिमोर एशोसिएसन अफ नेप्लिज इन अमेरिकाले संयुक्त रुपमा गरेका हुन्।