पूर्वाञ्चल खबर
विराटनगर / मोरङको धनपालथान गाउँपालिका–४ गदिया खोला नजिकै दूध बोक्ने भ्यानको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आज विहान दुध बोक्ने गाडीले ठक्कर दिँदा १२ वर्षीय बालक मोहमद जवारको मृत्यु भएको हो ।
धनपालथान गाउँपालिका–४ गदिया खोला नजिक झापाको एन.एम.सी. डेरी उद्योगको मे १ च ४६०९ नम्बरको भ्यानले पैदलयात्री धनपालथान गाउँपालिका–४ का १२ वर्षिय जवार, १८ वर्षिय मोहमद कैफ र १५ वर्षिय अफसार अन्सारीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते तीनै जनालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा जवारको मृत्यु भएको हो भने २ जनाको सोही अस्पतालमा उपचार भईरेहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई ठक्कर दिने भ्यान र चालक झापा मेची नगरपालिका–७ बस्ने बर्ष २२ को गोविन्द प्रसाद अधिकारीलाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।
ठक्करबाट बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले रंगेली विराटनगर सडक खण्ड अवरुद्ध गरेका थिए । तर केही समय पछि चालकलाइ कडा कारवाही गर्ने आश्वासन दिएपछि चक्काजाम खुलेको डिएसपी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार हाल सो सडक खण्डको अवस्था सामान्य छ ।