पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरबाट प्रहरीले दुईवटा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले सोमबार राती साढे ८ बजे २ थान पेस्तोल र गोलीसहित भारत सितामढी ग्राम पञ्चायत थान बैरगनिया ७ घर भएका अन्दाजी २० बर्षीय कुनाल कुमारलाई पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–९ मा रहेको एक होटलमा हतियारसहित बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गई चेकजाँच गर्ने क्रममा अटोमेटिक पेस्तोल थान–१, सोही पेस्तोलको म्याग्जिन थान–१, म्याग्जिनमा लोड भएको गोली ४ राउण्ड, कटुवा पेस्तोल थान(१, पेस्तोलमा लोड भएको गोली १ राउण्ड र निजले लगाएको पाइन्टको गोजीबाट कटुवा पेस्तोलमा लाग्ने ३ राउण्ड गोली बरामद गरेको थियो ।
हतियार सहित पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भईरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।
प्रहरीले पेस्तोलसहित नेपाल छिरेका कुमार हतियार कारोबारी भएको हुन सक्ने आशंका गरेको छ । कुनै अपराधिक घटना गराउने उदेश्यले पनि उनीहरु विराटनगर आएको हुन सक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको डीएसपी श्रेष्ठको भनाइ छ ।