खबर पूर्वाञ्चल
सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र र नेपाल प्रहरीले धनकुटाको भेडेटारबाट गाँजा बोकेका दुईवटा एम्बुलेन्स नियन्त्रणमा लिएका हुन् । पछिल्लो समयमा गाँजा तस्करीले एम्बुलेन्स प्रयोग गर्दै आएको फेला परेको छ ।
यसअघि सुनसरी र धनकुटाको सिमानामा पर्ने भेडेटारबाट पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरमा लुकाएर तस्करी भएको गाँजा बरामद गरेको प्रहरीले एम्बुलेन्सबाट पनि तस्करी भएको गाँजा बरामद गरेको हो ।
प्रहरीले शनिवार साँझ धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट एम्बुलेन्सामा तस्करी भएको गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ का ४८ वर्षीय जयदेव चेल रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
एम्बुलेन्समा गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा एम्बुलेन्सभित्र ५२ केजी गाँजा बरामद गरेको २४ घण्टाभित्रै सशस्त्र प्रहरीले पनि एम्बुलेन्सबाटै झण्डै तीन सय किलो गाँजा नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाका आधारमा आज विहानको राती सशस्त्र प्रहरी बल सुरक्षा बेस चतराबाट खटिएको टोलीले को १ च २९३७ नम्बरको एम्बुलेन्समा लोड भएको गाँजा बरामद गरेको हो । प्रहरीलाई देखेपछि एम्बुलेन्स चालकसहित केही व्यक्तिहरू भने एम्बुलेन्स छाडेर फरार भएको जनाइएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यसअघि भेडेटारबाट इन्धन बोक्ने टयाङ्करको चेम्बरमा लुकाएर ल्याउँदै गरेको करिब ६ क्विन्टल गाँजा प्रहरीले बरामद गरेको थियो ।
तपाईको प्रतिक्रिया