पूर्वाञ्चल खबर
विराटनगर / नेपालका प्रितम आचार्य भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा तेस्रो भएका छन् ।
जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् भने अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् । फाइनलमा ६ जना पुगेका थिए । सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमले अडिसनदेखि नै जजहरुलाई प्रभावित पारेमा थिए । आयुष र प्रितम २० हजार भन्दा बढी प्रतिस्पर्धीहरुलाई पछि पर्दै फाइनलमा पुगेका थिए ।
फाइनलमा पुग्नुभन्दा पहिले अर्थात् सेमिफाइनलमा प्रितमले ‘हम दिल दे चुके सनम’ को ‘तड़प तड़प इस दिलमे’ गाएका थिए भने आयुषले कुमार सानुको स्वर रहेको ‘तुम मिले दील खिले’ गाएका थिए।
नेपालका दुई बालगायकले सारेगमपामा नेपालको नाम चिनाउन भरपुर प्रयास गरेका छन् । फाइनलमा आयुष र प्रितम सहित ,अनुष्का पात्रा, सुगन्धा दाते, आस्था दास र भारतीय बालक महम्मद फैजले प्रस्तुति दिएका थिए ।
२०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए । कक्षा ६ मा अध्ययनरत उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए ।