पूर्वाञ्चल खबर
विराटनगर /दुर्इ पटकको विश्व विजेता भारतले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको हो । लगातार तेस्रो खेलमा पनि हार ब्यहोरेपछि दक्षिण अफ्रिकाको अगाडिको यात्रा निकै कठिन भएको छ । यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा इंग्ल्यान्डसँग १ सय ४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको थियो ।
२ सय २८ रनको मध्यम लक्ष्य पछ्याउँदै भारतले ४७ दशमलव ३ बलमा ४ विकेटको क्षतिमा सो लक्ष्य भेटायो । भारतको जितमा ओपनर रोहित शर्माले अविजित १ सय २२ रन बनाए । रोहितले १ सय ४४ बल खेल्दै १३ चौका र दुई छक्का प्रहार गरे । पूर्व कप्तान महेन्द्रसिंह धोनीले ३४ रन बनाउँदा केएल राहुलले २६ रन बनाए । कप्तान विराट कोहली भने १८ रनमा आउट भए । दक्षिण अफ्रिकाका कागिसो रबडाले २ विकेट लिदाँ क्रिस मोरिस र एन्डिले फेहलुकवायोले समान १–१ विकेट लिए ।
यसअघि इंग्ल्यान्डको साउथहृयाम्पटनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले ४२ रन बनाउँदा कप्तान फाफ् डु प्लेसिसले ३८ रन , एन्डिल फेहलुकवाओले ३४ रन र डेभिड मिलरले ३१ रन बनाए । त्यस्तै कागिसो रबडा अविजित ३१ रन र रसिइ भान डेर डुसेनले २२ रन बनाए ।
भारतका युजभिन्द्र चाहालले ४ विकेट लिए । त्यस्तै, जसप्रित बुमराह र भुवनेश्वर कुमारले समान २–२ विकेट लिए ।