पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश नं १ का प्रमुख प्रा. डा. गोविन्दवहादुर तुम्वाहाङले मुलुकमा सुशासन कायम गर्न सञ्चारजगतको ठूलो भूमिका रहेको वताएका छन् ।
आज विराटनगरमा आयोजित भवानीप्रसाद – जीवादेवी रेग्मी स्मृति पत्रकारिता पुरस्कार–२०७५ पुरस्कार वितरण गर्दै प्रमुख प्रा. डा. तुम्वाहाङले सो कुरा विचार व्यक्त गरेका हुन् । उनले सरकारले गरेका गलतकार्यलाई खवरदारी गरी जनतालाई सही सत्य समाचार सम्प्रेषण गर्न राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारिता एउटा सम्मानित पेशा रहेको समेत बताए ।
देश र जनताप्रति दायित्व रहेको पत्रकारहरुले आफ्नो ज्यानलाई जोखिममा राखि जनतालाई सुशुचित गराउने कार्य गरिरहेका छन् भन्दै प्रमुख प्रा. डा. तुम्वाहाङले नागरिकको स्वतन्त्रता कायम राखी मानवअधिकारको संरक्षण गर्नु ठूलो जिम्मेवारीपूर्ण दायित्व रहेको बताए ।
प्रा.डा.तुम्बाहाङले पत्रकारले पेशागत मर्यादा कायम राख्दै तिनै तहका सरकारलाई खबरदारी गर्नुपर्ने बताए । उनले पत्रकार देश र जनताप्रति उत्तरदायि हुनुपर्ने र इमान्दारिताबाट चुक्न नहुने बताए ।
नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य महेश रेग्मीले सञ्चारजगत समाजको ऐनको रुपमा रहेको बताउँदै जनता र समाजले यसलाई अत्यन्त विश्वास गर्ने गरेको धारणा व्यक्त गर्नु भयो ।
पुरस्कृत व्यक्तित्व भण्डारीले महासंघ सवैको साझ संस्था भएको चर्चा गर्दै पुरस्कार प्राप्तवाट समाजप्रति ठूलो जिम्मेवार वनाउँने बताए ।
दाता राष्ट्रिय समाचार समिति(रासस)का तत्कालिन क्षेत्रीय प्रमुख एवम् रासस कर्मचारी संघका पूर्व केन्द्रीय अध्यक्ष हेमराज रेग्मी छत्तीस वर्ष समाचार क्षेत्रमा कार्य गरेको चर्चा गर्दै पुरस्कार राशीमा आगामी दिनमा थप गर्ने जानकारी दिए ।
महासंघका मोरङ सभापति बन्धु पोखरेल,महासंघ प्रदेश महासचिव विवेक गौतम, महासंघका उपसभापति कुमोद अधिकारी ,महासंघ मोरङका पूर्व अध्यक्ष शिववहादुर कार्कीलगायतले लोकतन्त्रमा पत्रकारले स्वतन्त्र र भयरहित वातावरणमा कार्य गर्न पाउने पर्ने बताए ।