खबर पूर्वाञ्चल
चैत २९ गते भएको दुर्घटनामा घाइते भएका ५५ वर्षीय प्रहरी निरीक्षक महावीर यादवको आज बिहान मृत्यु भएको हो ।
यादव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निलम्बनमा परेका प्रहरी अधिकृत हुन् । अख्तियारले २०७४ सालमा शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो ।
विराटनगर–१३ घर भएका प्रहरी निरिक्षक यादवको विराटनगरमा निर्माणाधीन सडकमा गरिएको लापरबाहीका कारण दुर्घटनामा परेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार को १ प ६७३८ नम्बरको मोटरसाइकलमा विराटनगर–१३ नहर छेउस्थित निर्माणाधीन सडकमा टाँगिएको डोरीमा अल्झिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते यादवको विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
सडक कालोपत्रे गर्नलाई बाटो बन्द गर्न टाँगिएको डोरीमा अल्झिएर दुर्घटना हुँदा यादवको घाँटीमा गहिरो चोट लागेको थियो । सो सडकमा निर्माण कम्पनी भूमि कन्सट्रक्सनले काम गरिरहेको छ । सवारी साधनको चाप अत्याधिक रहेका बेला वरपर कुनै सङ्केत नराखी एक्कासि कन्सट्रक्सनका कामदारले पूर्व र पश्चिममा रहेको बिजुलीको पोलमा डोरी टाँगेर बाटो बन्द गरेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।