CLASSICTECH NET

प्रदेश १ को नाम र राजधानी दर्ता गर्ने समयावधि थप्दै सर्बदलिय बैठक सकियो

खबर पूर्वाञ्चल, १९ बैशाख २०७६, बिहीबार १७:१९

विराटनगर / प्रदेश १ को नाम र राजधानीको टुंगो तत्काल नलाग्ने भएपछि प्रदेशसभामा प्रस्ताव गर्ने समयावधि थप गर्ने सर्वदलीय सहमति बनेको छ ।

बैठकमा सहभागि नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सबैलाई समेटेर जानका लागि वैशाख २२ सम्मको लागि प्रस्तावको लागि समय थप्ने निर्णय भएको जानकारी दिए । सबैलाई मेटेर जाने गरी निर्णय भएको छ, कार्कीले भने ।

बैठकमा सबै दलको सहमतिको आधारमा नाम र राजधानी तोकेर जाने र आज दिनभर कसैले पनि प्रस्ताव दर्ता नगर्ने सहमति भएको कार्कीले बताए । ‘केही दिन छलफल गर्नुपर्ने भएको कारण २२ गतेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय बढाउने सर्वदलीय सहमति भएको छ,’ कार्कीले भने, ‘सहमतिकै आधारमा नाम र राजधानीको विषयु टुंगो लगाउने विषयमा मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शेरधन राईले आफ्नो कुरा राख्नु भएको छ।’

बैठकमा सहभागी संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद बिष्णु तुम्बाहाम्फेले दलहरुको सर्बदलिय बैठकमा विराटनगरलाई राजधानी तोक्ने बिषयमा छलफल भएको जानकारी दिईन् । ‘नामको बिषय सबैलाई समेटेरै जाने भन्ने कुरामा मुख्यमन्त्री ज्यु देखिनु भएको छ, उनले भनिन्, तर स्थायी राजधानीको बिषयमा विराटनगरमा छलफल केन्द्रीत भयो ।’ सांसद तुम्बाहाम्फेले मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी विराटनगर राख्ने विषयमा प्रष्ट कुरा राखे पनि नामको विषयमा स्पष्ट नभनेको बताइन ्। ‘राजधानी विराटनगर राख्ने भन्ने विषयमा मुख्यमन्त्रीले कुरा राख्नुभयो,’ तुम्बाहाम्फेले भनिन्, ‘हाम्रो कुरा भनेको बृहत विजयपुर क्षेत्र बनाएर राजधानी तोक्नुपर्छ भन्ने हो ।’

यसअघि मुख्यमन्त्री शेरधन राईले नयाँ स्याटेलाइट सिटीको रुपमा विकास गरेर सोही क्षेत्रलाई राजधानी बनाउने बताएका थिए । बैठकमा मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शेरधन राई, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादव, संघीय लिम्बुवान मञ्चका तर्फबाट विष्णुमाया तुम्बाहाम्फे र राप्रपा नेपालकी इन्दिरा राई सहभागी थिए ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५