पूर्वाञ्चल खबर
विराटनगर / विप्लव समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई नेपाली कांग्रेस्र सभापति शेरबहादुर देउवाले समर्थन गरेका छन् । अब विप्लव समूहलाई कानुन अनुसार कारवाही गर्नुपर्ने उनले बताए ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले हिसात्मक गतिविधी गर्ने विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णय उपर्युक्त भएको बताएका हुन् । हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले मंगलबार विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्ध मात्रै नभएर जथाभावी आक्रमण गर्ने र अशान्ति मच्चाउने कार्य रोक्न कडा कारबाही गर्नुपर्ने सभापति देउवाको माग छ । ‘विप्लवले मान्छे मार्ने आतंक फैलाउने काम गरेको छ, हाम्रै मान्छे माथि पनि हत्या गर्नेगरी आक्रमण भयो,’ सभापति देउवाले भने, ‘प्रतिबन्ध मात्रै होइन कारवाही गर्नुर्पयो, अति गरेको छ विप्लवले मान्छे मार्ने बम पड्काउने गर्नेलाई कारबाही गर्नुपर्छ, प्रतिबन्ध लगाउने काम सही छ।’
सरकार र सिके राउतबीच भएको सहमति आफूहरुलाई अमान्य भएको बताउँदै सभापति देउवाले जनअभिमतमार्फत जनताको माग सम्बोधन गर्ने भन्ने विषयलाई राउत पक्षधरले जनमतसंग्रह भएको बताइरहेको कारण त्यो आफूहरुलाई कुनै हालतमा मान्य नहुने बताए । देश टुक्र्याउने र विखण्डनकारीलाई कानुन अनुसार कारवाही गर्नुपर्ने सभापति देउवाले भनाइ थियो । ‘कुनैपनि हालतमा जनमतसंग्रह मान्य हुँदैन,’ देउवाले भने ।
रेशम चौधरीलाई आदालतले जेल पठाउने आदेश उपर्युक्त भएको समेत सभापति देउवाले बताए । ‘प्रहरीलाई मार्ने, बच्चालाई मार्नेलाई जेल सजाय त हुनैपर्थ्यो नि हत्या त हत्या नै हो नि,’ देउवाले भने।