पूर्वाञ्चल खबर
विराटनगर / टिपरका कारण हुने दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक र जिल्ला प्रहरी कार्यालय मोरङले टिपर चालक नियमन तथा अनुशिक्षण कार्यक्रम सुरू गरेको छ ।
दुर्घटना न्यूनिकरणका लागि आजदेखि नियमन तथा अनुशिक्षण सुरू गरिएको हो । निमार्ण सामाग्री बोकेर तिव्र गतिमा गुडेन ‘टिफर’ दुर्घटना बढेपछि मोरङमा ट्राफिक प्रहरीले चालकको अभिलेख राखेर नियमन गरि उनीहरूलाई प्रशिक्षण दिन थालेको छ ।
टिपरका कारण १ नम्बर प्रदेशको १४ जिल्ला मध्ये मोरङमा सबैभन्दा बढी दुर्घटना हुन थालेपछि टिपर चालकलाई नियमन गर्न जिल्लामा प्रहरीले नयाँ अभियानको सुरुवात गरेको हो ।
कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिकाको नेमुवामा यो कार्यक्रमको आरम्भ भयो । प्रत्येक दिन टिपर चालकले १५ मिनेट कार्यक्रममा सहभागी भएर ट्राफिक प्रहरीबाट प्रशिक्षण लिनु पर्ने छ ।
कार्यक्रममा सहभागी भएर पनि चालकले सडकमा ट्राफिक नियमको उल्लंघन गरेर तीव्र गतिमा टिपर कुदाएमा कारवाहीको दायरामा ल्याइने मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । उनले टिपरका कारण दुर्घटना बढिरहेको जनगुनासो आउन थालेपछि टिपर चालकलाई नियमन गर्नका लागि नयाँ अभियानको सुरुवात गरिएको जानकारी दिए ।
‘टिपरका कारण दिनप्रतिदिन दुर्घटना बढिरहँदा जनमानसमा ठूलो चिन्ता छाएको छ,’ मोरङ प्रहरी प्रमुख केसीले भने, ‘टिपरले जनतामा उतारेको डरयुक्त भावना र वातावरणको अन्त्य गर्न चालकहरुलाई आवश्यक प्रशिक्षण दिइने छ ।’ एसपी केसीले सडकमा गुड्ने टिपरका हकमा धेरै प्रश्नहरु उब्जन थालेपछि टिपरसँग सम्बन्धीत कार्यक्रम सञ्चालन गर्नु परेको बताए ।
कार्यक्रम सञ्चालन गर्न नेमुवामा ट्राफिक प्रहरीसहितको छुट्टै एउटा युनिट खडा गरिएको छ । परिचालित ट्राफिक प्रहरीले टिपर कुदाउन चालक योग्य छन् की छैनन्, उनीहरुसँग लाइसेन्स छ की छैन, चालकले लाइसेन्स कहिले पाएको हो, चालकको शैक्षिक योग्यता र उमेर कति छ भन्ने बारेमा अभिलेख तयार पारिनेछ ।
ट्राफिक प्रहरीले चालकलाई टिपरका कारण भइरहेका दुर्घटना, दुर्घटना न्यूनीकरणका लागि अपनाउनु पर्ने सावधानी, तीव्र गतिका कारण हुने दुर्घटना लगायतका बारेमा सचेत गराउँदै चालकको अवस्था र सडकमा कुदाइने टिपर कन्डिसनमा भए नभएका बारेमा चेकजाँच समेत गरिनेछ । टिपरको अवस्था परीक्षणका लागि छुट्टै प्राविधिक टोली परिचालन गरिएको छ ।
पूर्वाञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्कीले टिपरका कारण बढिरहेका दुर्घटना न्यूनीकरण गर्न आफूहरुले पनि सहयोग गर्ने बताए । उनले टिपर चालकहरुलाई आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्ने हिसावमा टिपर कुदाउन चालकहरुलाई आग्रह गरे ।
बुढीगंगा गाउँपालिका अध्यक्ष बालचन माझीले सडकमा गुडिरहेका टिपरको आतंक नियन्त्रण गर्न आवश्यक देखिएको अवस्थामा सञ्चालन गरिएको कार्यक्रम सान्दर्भिक रहेको बताए ।
टिफरमा लागू हुने ‘टाइम कार्ड’ अन्तिम चरणमा
टिपर चालकहरूले अनियन्त्रित रूपमा हाँक्दा दुर्घटना बढेकाले चालकलाई सचेत गराउँदै गति कम गर्नका लागि ‘टाइम कार्ड’ लागू गर्ने तयारी अन्तिम चरणमा पुर्याइएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताए । टिपरलाई दिने टाइम कार्ड पासबुक आकारको हुनेछ । तोकेको समय भन्दा अगाडि नै पुग्ने टिपरलाई कारवाही गरिने मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक पोखरेलले बताए ।
पहिलो पटक एक हजार रुपैयाँ जरिवाना असुल गरिने छ । दोस्रो पटक पुनः नियमको उल्लंघन गरेमा कारबाहीको दायरा बढाउने तयारीमा रहेको प्रहरीको भनाइ छ ।
‘टाइम कार्ड’ लागू भएपछि प्रहरीले छुटेको स्थान, पुग्ने स्थान, पुगेको समय र दस्तखत र छापसमेत लगाउनेछ ।
मोरङमा दैनिक २ सय ५० देखि ३ सय वटासम्म टिपर चल्ने गरेको ट्राफिक प्रहरीको तथ्यांकमा छ । ट्राफिक प्रहरीले किलोमिटरको आधारमा टिपरमा ‘टाइम कार्ड’ लागू गर्नेछ ।
चालु आर्थिक वर्षको सात महिनामा प्रदेश १ मा टिपर दुर्घटनाका २० वटा घटना भएका छन् । दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् ।
४३ जना घाइते रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरीको तथ्याङमा उल्लेखछ । साउनय ता मोरङमा १०, उदयपुरमा ४, झापा २, सुनसरीमा २, सोलुखुम्बामा १,संखुवासभा १ भोजपुरमा १ वटा दुर्घटना भएको देखिन्छ ।