पूर्वाञ्चल खबर
विराटनगर / १ नम्बर प्रदेश अन्तर्गत पाँचथर, मोरङ र सुनसरी जिल्लामा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका ३ लालीखर्कमा स्कुटरको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । लालिखर्कबाट फिदिमतर्फ आउँदै गरेको मे ४ प २५७३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँका ३८ वर्षिय गोपालराई घाइते भएका थिए । ठक्करबाट गम्भीर घाइते राईलाई उपचारको लागि पाँचथर स्थित समर्पित अस्पताल पठाईएकोमा उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक सोही स्थानका ५० वर्षिय टंक श्रेष्ठसमेत घाइते भई सोही अस्पतालमा उपचार भईरहेको पाँचथरले जनाएको छ ।
त्यसैगरी मोरङको पथरीशनिश्चरे नगरपालिका ३ मा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जना घाइते भएका छन् । भित्री सडक खण्डमा दक्षिणबाट उतरतर्फ आउँदै गरेको को ८ प ८३११ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाईकल चालक मोरङ रतुवामाई नगरपालिका ५ सिजुवाका ३१ वर्षिय बीरबहादुर माझी घाइते भई उपचारकोलागि धरान स्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
यता कोशी राजमार्ग अन्तर्गत सुनसरीको ईटहरी उपमहानगरपालिका १२ खनार चौकमा स्कुल बसको ठक्करबाट १ जना पैदलयात्री घाइते भएकी छिन् । ईटहरीबाट खनारतर्फ जाँदै गरेको को १ च २२९२ नम्बरको हिमाली सेकेण्डरी बोर्डिङ स्कुलको बसले इटहरी १३ का ४५ वर्षिय नेविया खातुनलाई सडक पार गर्ने क्रममा ठक्कर दिएको थियो । घटना स्थलमा प्रहरी चौकी खनारबाट प्रहरी टोली खटि गई घाइते खातुनलाई उपचारकोलागि न्यूरो अस्पताल विराटनगर पठाईएको सुनसरी प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।