AArya
RUMPUM
animated ellipse animated ellipse

दर्शकलाई रुवाउँदै सकियो मुनामदन(फोटो फिचर)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ फाल्गुन २०७५, शनिबार १९:४७
3
Shares
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित मुनामदन नाटकमा अभिनय गर्दै कलाकार । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / दर्शकलाई रुवाउँदै महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित मुनामदन नाटकको मञ्चन सकिएको छ ।

विराटनगर हाटखोलास्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा गत माघ २२ गतेदेखि सञ्चालन भएको नाटकले दर्शकलाई रुवाएको छ । महाकविले सात दशकभन्दा अगाडि तत्कालीन नेपाली परिवेशलाई आधार बनाएर मुनामदन खण्डकाव्य लेखेका थिए । तर, सात दशकपछि पनि नेपालीको उही नियति र पीडा भएकाले पनि नाटकले दर्शकको मन जित्न सफल भएको आयोजक विराट आदर्श साहित्यिक मञ्चका अध्यक्ष कट्वाल दीपक दाबी गर्दछन् । यो पटक पटक २५ वटा शो मञ्चन भएको छ । सबै शो ‘हाउसफूल’ भएको थियो ।

अरुको पीडा र दुःखमा आँसु नरसाउनेहरूका पनि आँखाबाट आँसु झरेको थियो । झण्डै ८ हजारभन्दा बढी दर्शकले नाटक हेरेको नाटकका संयोजक प्रल्हाद खातीले बताए । नाटक सकिएपछि बत्ती बल्दा सबै दर्शक आँसु पुछिरहेका देखिन्थे । नेपाली समाजको यथार्थ चित्रण भएकाले पनि नाटकले दर्शकको मन जित्न सफल भएको प्रा.डा. टुनराज भट्टराई बताउँछन् । “नाटकको विषयवस्तु, संवाद र कलाकारको सशक्त प्रस्तुतिले दर्शकको आँखा रमाउने मात्रै होइन खल्तीमा भएको रुमाल झिकेर पुच्छन बाध्य बनायो,” उनले भने ।

मुनामदन नाटक प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश विधायक सावित्रा रेग्मी, विन्ध्या कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद केसी, प्रदेश–१ का प्रहरी प्रमुख डीआईजी केदार रिजाल, मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसी, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरी, चर्चित कलाकार दीपाश्री निरौलालगायतका विशिष्ट व्यक्तिले समेत हेरे । कटवाल दीपकले नाट्य रुपान्तरण गरेको नाटकको निर्देशन सविन कट्टेलले गरेका थिए । चाँडै नै धरान र चितवनमा पनि मुनामदन नाटक मञ्चन हुने आयोजक समितिका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी गराए ।

सबै कलाकारहरू विद्यार्थी भए पनि जीवन्त अभिनयले दर्शकको अत्यधिक मन जित्न सफल भएको नवोदितको दाबी छ । “दर्शकलाई नाटकप्रति छाप बसाउन सफल भइयो,” उनले भने, “धेरै विद्यार्थीले हेरेकाले भोलिका दर्शकसमेत यो नाटकले तयार गरेको छ ।”

नाटकमा लकेश दंगाल, सरु कटवाल, जीविका लिम्बू, सम्झना आचार्य, वर्षा न्यौपाने, मिलन चाम्लिङ, नवराज गिरी, मुस्कान तिम्सिना, नवराज नेपाल, रेजन राई, सन्देश बाराकोटीलगायतले अभिनय गरेका थिए । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर