पूर्वाञ्चल खबर
विराटनगर / चर्चित ३३ किलो सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा भुजुङ गुरुङसहित ८ जनालाई बिराटनगर उच्च अदालतले थुनामा राख्ने आदेश दिएको छ ।
जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेकाहरुले उच्च अदालतमा रिहाईको माग गर्दै पुनरावेदन गरेका थिए ।
उच्च अदालतका कामु मुख्य न्यायाधीश शिवराज अधिकारी र लेखनाथ घिमिरेको इजलासले भुजुङ गुरुङसहित ८ जनालाई थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर गरेको उच्च अदालत विराटनगरका रजिस्टार नारायण रेग्मीले जानकारी दिए ।
यसअघि सुन मुद्दाका मुख्य आरोपीलाई छाड्ने विवादास्पद आदेश दिने उच्च अदालतमा मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित पाँचजना न्यायाधीशलाई न्यायपरिषदले कारवाहीस्वरुप काजमा तानेको थियो ।
छ जना न्यायाधीश एकैसाथ कारवाहीमा परेपछि बिहीबार उच्च अदालतले भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, बेनु श्रेष्ठ र डाक्टर डेभिट भनिने छिरिङ वाङ्ला घलेलाई थुनामै राख्ने जिल्लाको आदेश सदर गर्यो ।
उच्च अदालत विराटनगरले बालकृष्ण खड्का, ठाकुरप्रसाद ढुंगाना, रेवत भन्ने रेवतकुमार आचार्य, विनोद अधिकारी र मोतिराम श्रेष्ठलाई धरौटीमा छाड्ने जिल्लाको आदेश सदर गरेको छ । यी पाँचै जनालाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको थियो ।
उच्च अदालतले अबु सलाम खान भनिने शैयाद अकबर र डब्बु भनिने इस्तियाज उद्दिनलाई भने जनही १० लाख धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत बिराटनगरका रजिस्ट्रार रेग्मीले जानकारी दिए ।