पूर्वाञ्चल खबर
सुनसरी / लिग विजेता मनाङ मस्र्याङदी क्लब सुनसरीको इटहरीमा जारी मदन भण्डारी स्मृती इटहरी गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । मनाङले आज भएको क्वाटरफाइनल खेलमा आयोजक राष्ट्रिय जागृती क्लबलाई २–१ गोल अन्तरले पाखा लगाउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
मनाङको जितमा सुजल श्रेष्ठ र कमल श्रेष्ठले गोल गरे । सुजलले खेलको ३४ औ मिनेटमा गोल गर्दा कमलले ७५ औ मिनेटमा गोल गरे । आयोजक राष्ट्रिय जागृतीको लागी उमेश राइले ६३ औ मिनेटमा गोल फर्काएपनि हार टार्न सकेनन् । मनाङले अब सेमिफाइनलमा मंगलबार हुने पुलिस र सीएफसी भुटान बिचको बिजेतासँग बिहिबार प्रतिष्पर्धा गर्नेछ ।
ईटहरी रंगशालामा भएको खेलमा मनाङका सुजल श्रेष्ठले पहिलो हाफको ३४ औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको मनाङले आयोजक बिरुद्ध आशातित प्रदर्शन गर्न सकेन । दोस्रो हाफको १८ औ मिनेटमा आयोजकका उमेश राईले १ गोल गरी खेललाई बराबरीमा ल्याए । त्यसको सात मिनेट नबित्दै बराबरी अवस्थामा रहेको खेल उल्टाउदै मनाङका कमल श्रेष्ठले १ गोल गरी आफ्नो टिमलाई २–१ को जित दिलाए ।
प्रतियोगितामा निर्णायक गोल गरेका कमल श्रेष्ठ म्यान अफ द म्याच हुदै नगद १० हजार र ट्रफि हात पारे । प्रतियोगिता अन्तर्गत सोमबार विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लव र ललितपुरे क्लब थ्रीस्टार बीच प्रतिस्पर्धा हने आयोजकले जनाएको छ ।
शनिबारबाट शुरु प्रतियोगितामा दुई विदेशी टिम सहित ८ टोलीले सहभागीता जनाएका छन । गोल्डकपको विजेताले १६ लाख र उपविजेता टोलीले ८ लाख रुपैयाँ हात पार्नेछन् ।