आमसञ्चार विधेयकको मस्यौदा मुख्यमन्त्रीलाई हस्तान्तरण

खबर पूर्वाञ्चल, २९ पुष २०७५, आईतवार १९:४३
आम सञ्चार विधेयक’ मुख्यमन्त्री शेरधन राईलाई हस्तान्त्रण गर्दै पत्रकार महासंघका प्रदेश १ अध्यक्ष बिक्रम लुइटेल । तस्वीर पुष्पराज थपलिया

विराटनगर / नेपाल पत्रकार महासंघ प्रदेश १ कार्यसमितिले नमुना ‘प्रदेश आम सञ्चार विधेयक’ मुख्यमन्त्री शेरधन राईलाई हस्तान्त्रण गरेको छ ।

प्रदेश सरकारलाई प्रेस मैत्री कानुन निर्माणकालागि महासंघले नमुना बिधेयक मस्यौदा महासंघको प्रदेश १ समिति अध्यक्ष विक्रम लुँईटेल र महासचिव विवेक गौतमसहितको टोलीले आज प्रदेश सरकारका मुख्यमन्त्री राईलाई हस्तान्तरण गरेको हो ।

नमुना मस्यौदा बुझ्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले पत्रकार र सञ्चार माध्यमको हितमा काम गर्ने बताए । आफूस“ग सञ्चार मन्त्रालयमा काम गरेको पनि अनुभव भएको बताउदै उनले प्रदेश सरकार प्रेस मैत्री बन्ने बताए । महासंघको तर्फबाट प्राप्त भएको मस्यौदाका विषयलाई समेत समावेश गरी ऐन निर्माण हुने मुख्यमन्त्री राईले बताए ।

प्रदेश सरकालाई बुझाइएको विधेयकमा प्रदेशमा आमसञ्चार माध्यम र पत्रकारिताको विकासका लागि प्रदेश सरकारले खेल्नुपर्ने भूमिका र बनाउनु पर्ने नीतिबारे उल्लेख रहेको महासंघ प्रदेश समितिका महासचिव गौतमले जानकारी दिए । महासंघ केन्द्रीय समितिको सहयोगमा गहन छलफल गरि प्रदेश आमसञ्चार कानूनको मस्यौदा निर्माण गरेकोले यसलाई प्रदेशसभाबाट पारित गरि लागू गर्न महासंघले सरकारलाई आग्रह गरेको छ ।

मस्यौदामा केन्द्रमा मात्र रहेको मिडियाको दर्ता, नवीकरण, वर्गीकरण, विज्ञापन वितरण, पत्रकारिता प्रशिक्षणका प्रावधान प्रदेशमा ल्याउने तथा सरकारी विज्ञापनको भुक्तानी प्रदेश र स्थानीय तहबाटै हुने प्रस्ताव गरिएको छ । मस्यौदामा कन्टेन्टबाहेक अन्य विषय निमयमन गर्न तथा हाल केन्द्रमा सूचना विभाग, प्रेस काउन्सील र सञ्चार मन्त्रालयले गरिरहेको मिडिया वर्गीकरण, प्रशिक्षण, लोककल्याणकारी विज्ञापन वितरण, मिडिया अभिलेखीकरण र लाइसेन्स वितरण जसता कामको लागि प्रदेश स्तरमै स्वतन्त्र र स्वायत्त खालको प्रदेश सञ्चार प्राधिकरण स्थापना गर्ने प्रस्ताव छ । यस्तै पत्रिका, रेडियो, टिभी, अनलाइनलगायत सबैखाले आमसञ्चार माध्यम संचालन र नियमनलगायत विषय मस्यौदाले समेटेको छ ।

पत्रकार महासंघ आफैले विज्ञ र सरोकारवालाहरुलाई सहभागी गराएर निर्माण गरेको प्रदेश आमसञ्चार बिधेयकको मस्यौदा सञ्चार सम्बन्धि एकीकृत कानुनको रुपमा तयार गरिएको पत्रकार महासंघले जनाएको छ । मस्यौदामा सञ्चार माध्यमको बर्गीकरण प्रदेशबाटै हुनुपर्ने र त्यसको संपरीक्षण समिति, पत्रकारहरुको क्षमता विकासको लागि प्रदेशिक आमसञ्चार प्रातिष्ठान, सञ्चार माध्यममको दर्ता, नविकरण, इजाजत, नियमन, सहयोग र कार्वाहीको लागि आमसञ्चार प्रतिष्ठानलगायत संरचना निर्माण गर्ने विषय उल्लेख छ ।

प्रदेश आमसञ्चार विधेयकको नमुना मस्यौदा बुझ्दै मुख्यमन्त्री राईले प्रदेश १ लाई अन्य प्रदेशभन्दा बढी प्रेसमैत्री बनाउन लागिपर्ने बताए । पत्रकार महासंघले निर्माण गरेको आमसञ्चार विधेयकको मस्यौदाले सरकारलाई सहयोग पुगेको भन्दै उनले यसको मर्म अनुसार बिधेयक निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले विधेयक तयार पार्दा पत्रकार महासंघसँग पटक पटक छलफल गर्ने स्पष्ट गरे ।

नमुना बिधेयकले पत्रकारको क्षमता विकासको लागि आमसञ्चार प्रतिष्ठान स्थापनादेखि प्रदेशका सञ्चार माध्यमको प्रवद्र्धनमा समेत सघाउ पुग्ने पत्रकार महासंघका प्रदेश १ अध्यक्ष बिक्रम लुइटेलले बताए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५