पूर्वाञ्चल खबर
विराटनगर / आफैले बोकेको बन्दुक पड्किँदा मोरङको उर्लाबारीमा एक प्रहरी जवान गम्भीर घाइते भएका छन् ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट बा १ झ ६४५० नं को मोबाइल भ्यानमा खटिएको प्रहरी टोली गस्तीमा रहेको प्रहरी जवान सञ्जीव खडकाले बोकेको राइफल पड्किदा खडका गम्भीर घाइते भएका हुन् । गस्तीका क्रममा उर्लाबारी नगरपालिका वडा नं. ३ स्थित थापा चौकमा पुग्दा खड्काले बोकेको .३०३ सर्ट म्याग्जिन लि इन्फिल्ड मार्काफोर १ राइफल एक्कासी पड्किएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठका अनुसार खड्काको छातीको दाहिने भागमा गोली लागेको छ ।
घाइते प्रहरी जवानको विराटनगरस्थित न्यूरो अस्पतालको सघन कक्षमा उपचार भइरहेको प्रवक्ता डीएसपी श्रेष्ठले जानकारी दिए । घटनाको अनुसन्धान सुरु गरेको बताउदै उनले आफैले पडकाएको हो कि अन्य कुनै कारणले हो भन्ने बिषयमा छानबिन सुरु गरेको बताए ।