पूर्वाञ्चल खबर
हत्यारा पक्राउको माग गर्दै आज यूवा अभियान र यूथ कांग्रेसले संयुक्त रुपमा विराटनगरको ट्राफिक चोकबाट प्रदेश नम्बर एकको प्रदेशसभा बैठक भवनस्थित देवकोटा चोकसम्म र्यालीको आयोजना गरि विराध गरेका थिए।
नेवि संघका सहमहामन्त्री कृष्ण कार्कीको नेतृत्वमा निस्किएको र्यालीले सरकारले हत्यारा पक्राउ गर्न नसकेको आरोप लगाउदै नाराबाजी गरेका थिए ।
निर्मलाको बलात्कार पछि हत्या भएको ४ महिना विति सक्दा पनि सरकारले दोषीलाई पक्राउ र कारवाही गर्न सकेको छैन । विराटनगरमा निर्मला हत्याका दोषीलाई कारवाहीको माग गर्दै यूवाहरुले निकालेको विरोध र्यालीमा ‘पोलपोलमा सरकार,टोल टोलमा बलत्कार’,‘प्रमाण सबै नष्ट छन्, प्रहरी नेता भ्रष्ट छन्’ भन्दै नारा लगाएका थिए ।
र्यालीका क्रममा यूवाहरुको जमातले जिल्ला प्रशासन कार्यालय परिसर, ट्राफिक चोक, बजारक्षेत्रमा ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएको पोस्टर टाँसेको नेविसंघ सहमहामन्त्री कार्कीले बताए।
यस क्रममा प्रदेशसभा बैठक भवन अगाडि प्रहरीले पोस्टर उप्काउने काम र र्यालीमाथि धरपकड गरेको बताएका नेता कार्कीले सरकारले निर्मलालाई न्याय नदिउञ्जेल आफूहरुको प्रदर्शन जारी रहने बताए।
दुईतिहाइ सरकार हुँदा पनि दिनहुँ हत्या, बलात्कारका घटनाले समाजिक वातावरण त्रासमय बन्दै गएको दावी गर्दै शान्ति सुरक्षाको प्रत्याभूतिका लागि उनले सरकारसमक्ष माग गरे।
र्यालीमा नाराबाजी गर्ने क्रममा यूवाहरुले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेका थिए। देवकोटा चोकमा प्रहरीले धरपकड गरेपछि र्याली जिल्ला प्रशासन कार्यालयमै पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभामा वक्ताहरुले निर्मला पन्तका अभियुक्तलाई सरकारले नै संरक्षण गरेको आरोप लगाए। यूवा समूहले निर्मला पन्तको परिवारको पक्षमा न्यायको माग गर्दै विराटनगर क्षेत्रमा सयौँको संख्यामा पम्प्लेट टाँसेका थिए।
विराटनगरमा निस्किएको यूवाहरुको जु्लुसले स्थानीय ट्राफिक चोकमा निर्मला पन्तका हत्यारालाई सरकारले ढाकछोप गरेको भन्दै गृहमन्त्रीको राजीनामासमेत माग गरे ।