पूर्वाञ्चल खबर
दक्षिण एसियाली फुटबल महासंघको ओमानको मस्कटमा बसेको बैठकले महिला साफको मिति टुंगो लगाएको हो । जसअनुसार महिला साफ आगामी फागुन २८ देखि चैत ८ सम्म विराटनगरको सहिद रंगशालामा सञ्चालन हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो ।
प्रतियोगितामा नेपालसहित सार्क राष्ट्रका टिमले भाग लिनेछन् । महिला साफ च्याम्पियनसिप यसअघि श्रीलंकाले आयोजना गर्ने बताइएको थियो। तर अन्तिम समयमा आएर श्रीलंकाले आयोजना गर्नबाट हात झिकेपछि नेपालले दाबी गरेको थियो । त्यसपछि साउथ एसियन फुटबल फेडेरेसनले नेपाललाई आयोजना गर्ने जिम्मा दिने निर्णय गरेको थियो ।
यसअघिका चार संस्करणको सबै उपाधि भारतले जितेको थियो । नेपाल सुरुवाती ३ संस्करणको फाइनलमा पुगेर पनि भारतसँग पराजित हुँदा उपाधि बिमुख भएको थियो ।समूह ‘ए’ मा नेपालसँगै यो समूहमा बंगलादेश, भुटान र पाकिस्तान छन् । त्यस्तै, समूह ‘बी’ भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।