पूर्वाञ्चल खबर
को १ ख ५९६५ नम्बरको ट्यांकरमा कतै पनि नक्कल गर्न नसकिने ताला–चाबी प्रयोग गरिएको थियो । तर डिजेल बोकेको सो ट्यांकरबाट २४८४ लिटर डिजेल चारी भएको त्यही घटनाको अनुसन्धानका लागि गठित छानबिन समितिले ट्यांकरको नापजाँचबाट पुष्टि गरेको छ ।
चोरी निर्मुल पार्न ट्यांकरमा अत्याधुनिक लकिङ सिस्टम (ताला–चाबी) लगाइए पनि ठूलो परिमाणमा डिजेल चोरिएको २४ घण्टा नबित्दै नेपाल आयल निगमले घटनाको छानबिनका लागि उपनिर्देशकको संयोजकत्वमा छानबिन समिति बनाएर शुक्रबार अपरान्ह विराटनगर पठाएको थियो । मंसिर ६ गते बिहीबार साँझ डिजेल चोरी घटना सार्वजनिक भएको थियो ।
छानबिन समितिले सोमबार पनि अनुसन्धान जारी राखेको छ । तर ठोस कारण अहिलेसम्म पनि पत्ता लगाउन सकेको छैन । ट्यांकरबाट कसरी डिजेल चोरियो भन्ने कुरा चार दिनसम्म पनि यकिन नहुँदा छानबिन समितिको सीमा र क्षमतामाथि आशंका उब्जिएको हो ।
उपनिर्देशक अन्जना पोखरेलको संयोजकत्वमा इन्जिनियर प्रमेश पुडाशैनी र सहायक प्रबन्धक राजकुमार केसी छानबिन समितिमा रहेका छन् । उनीहरूलाई चोरी घटनाको सबै तरिकाबाट अनुसन्धान गर्न कार्यादेश दिइए पनि अनुसन्धान किनारा लाग्न नसकेको हो ।
छानबिन समितिले डिजेल लोड गरिएको ट्यांकरको प्राविधिक निरीक्षण र नापजाँच गर्दा २४८४ लिटर डिजेल कम भएको पुष्टि भने गरिसकेको छ । तर दिन बित्दै जाँदा विभिन्न चलखेल हुन सक्ने भन्दै केही ट्यांकर व्यवसायीहरूले छानबिनको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने धारणा राखेका छन् ।
घटनाको छानबिन गरिरहेकी उपनिर्देशक पोखरेलले अनुसन्धान अघि बढिरहेको भन्दै यसबारे नबोल्ने बताइन् । अनुसन्धानमा प्रभाव पर्ने भन्दै यसबारे आफू नबोल्ने उनले बताएकी हुन् । उनकै निगरानीमा आइतबार ट्यांकरको डिप परिक्षण गरिएको थियो । पूनः सोमबार ट्यांकरको ढक्कनमा लगाइएको अत्याधुनिक ताला–चाबीलाई बिगार्न सकिन्छ कि सकिंदैन भनेर पनि परीक्षण गरिएको थियो ।
इन्धन भर्ने आईओसी र खन्याउने एनओसीको विराटनगर डिपोमा मात्रै रहने अत्याधुनिक ताला कसरी खोलियो र डिजेल चोरी भयो भन्नेबारे छानबिन समिति अहिलेसम्म ठोस तथ्य फेला पार्न नसकेको बताइएको छ । चार दिनको अनुसन्धान टुंगोमा नपुग्दा अनुसन्धान प्रक्रियाप्रति नै आशंका एवं टीका–टिप्पणी सुरू भएको हो ।
शुक्रबार डिपोमा खटिएका निगम कर्मचारी पुण्य पौडेलले ट्यांकरमा भण्डारण भएको डिजेल नाप्ने क्रममा शंका देखाउँदै निगमको प्रदेश कार्यालय विराटनगरका निर्देशक दिनेशकुमार यादवलाई खबर पुर्याएका थिए । त्यसपछि निगमभित्रै होहल्ला भएर घटना सार्वजनिक भएको थियो । घटनालाई अनावश्यकरूपमा बाहिर ल्याएको आरोपमा निर्देशक यादवले पौडेललाई कार्यकक्षमै दुव्र्यवहारसमेत गरेको कर्मचारी स्रोतले बताएको छ ।
निर्देशक यादवले घटनामा आफ्नो संलग्नता नभएको दाबी गर्दै ट्यांकरको चाबी साउन १६ गते उपप्रबन्धक रामकृष्ण श्रेष्ठ र सहायक प्रबन्धक वीरेन्द्र मिश्रलाई जिम्मा दिएको भन्दै पन्सिएका छन् । निगमको जिम्मामा रहने चाबी दुरूपयोग नभएको भन्दै उतैबाट (आईओसी) कमजोरी भएर आएको उनले दाबी गरेका हुन् ।
ट्यांकर चालकहरूको विरोधका बाबजुद विराटनगरबाट चल्ने चार सय वटा ट्यांकरमा काट्न, बंग्याउन र मोड्न नमिल्ने स्टिलको ताला–चाबी प्रणाली जडान गरिएको थियो । त्यस्तो प्रणाली जडान भएको ट्यांकरबाट इन्धन चोरी गर्नु असम्भव हुने सम्बद्ध व्यवसायीहरूले नै बताइसकेका छन् ।
इन्धन चोर्नका लागि चालकसँगको मिलेमतोमा चाबीको दुरूपयोग गरिएको हुनसक्ने उनीहरूले आशंका गरिएको हो । समितिले अनुसन्धानका क्रममा ट्यांकरभित्र रहेको इन्धनको गहिराई नाप्न खटिने कर्मचारी, चाबी राख्ने कर्मचारी, ढुवानीकर्ता, ट्यांकर चालक सर्वेन्द्र स्वर्णकार र अन्य कर्मचारीहरूसँग बयान लिएको जनाइएको छ ।
ट्यांकर मालिक सुकदेव सिंहले आफ्नो कमजोरी भएको स्वीकार गरेको भन्दै निगमका निर्देशक यादवलाई उम्काउन लागिएको निगमकै कर्मचारीहरूले दाबी गरेका छन् । यादवकै योजना अनुसार निगमसँग रहने चाबी ट्यांकर चालकहरूलाई उपलब्ध गराउने गरेको केहि ट्यांकर व्यवसायीहरूले आरोप लगाएका छन् ।
यादव प्रमुख भएर आएपछि विराटनगर डिपोको घाटा बढेको भन्दै पेट्रोलियम व्यवसायीहरूले नै ध्यानाकर्षण गराएका थिए । निगमको अमलेखगञ्ज डिपोको प्रमुख हुँदा चलान सच्याएको, लस अत्यधिक बढाएकोलगायका कारण जनाउ“दै यादवसहित २२ जना कर्मचारीलाई निगम व्यवस्थापनले कार्वाही गरेको थियो ।
थप अनुसन्धान सीआईबीले गर्ने
यसैबीच अत्याधुनिक तालाचाबी लगाउँदा पनि इन्धन चोरी भएको घटना अत्यन्तै संवेदनशील भएको भन्दै निगमले थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) गुहार्ने भएको छ ।
निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले इन्धन चोरीलगायतका घटनाको सूक्ष्म छानबिनका लागि सिआईबीसँग सहकार्य गरिने जानकारी दिए । त्यसका लागि मन्त्रालयसँगको समन्वयमा सिआईबीलाई पत्र लेखिने निर्देशक भट्टराईले बताए ।