खबर पूर्वाञ्चल
मुख्यमन्त्री कार्कीलाई आज दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हन् । कार्कीले ३ जनालाई मन्त्री पनि नियुक्त गरेका छन् ।
एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन् । विना विभागीय मन्त्री बनेका उनीहरुले पनि मुख्यमन्त्री काकीीसँगै शपथ लिएका छन् ।
झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।
प्रदेश १ सरकारमा नेकपा माओवादी केन्द्र भने सहभागी भएको छैन । उसले प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने गरी सहमति नभएसम्म आफूहरु सरकारमा नजाने बताएको छ ।
माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णयले अपमान भएको बताए । आलोपालोबारे लिखित सहमति नभएसम्म सरकारमा सहभागी नहुने बताए ।
मुख्यमन्त्रीको दाबी गर्न प्रदेश प्रमुखकोमा जानु अगाडि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले पनि गठबन्धन ५ वर्ष कायम हुने बताउदै मुख्यमन्त्री र मन्त्रीहरु परिवर्तन हुनसक्ने बताएका थिए ।
हिजो साँझ शीर्ष नेताहरुबीच भएको सहमतिमा मुख्यमन्त्री ५ वर्ष नै एमालेले पाउने उल्लेख भएपछि माओवादी असन्तुष्ट भएको हो । सरकारलाई दिएको समर्थन भने यथावत रहने माओवादीले जनाएको छ ।