पूर्वाञ्चल खबर
पहिलो सेमीफाइनल खेलमा इटहरीले धनगढीमाथी २ विकेटको संघर्षपूर्ण जित हात पार्दै उपाधी नजिक प्रवेश गरेको छ । इटहरीस्थित नेपाल डिभिएम स्कूलको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै १ सय ९ रनको योगफल खडा गरेको थियो । धनगढीका लोकेश बमले ५२ रन बनाउँदा रिदय बिहारीले २० रन र बिपिन रावलले १२ रन बनाए । इटहरीका बिकल्प आचार्य र निशान महतले ३–३ विकेट लिए । यस्तै भुपाल लुइटेलले २ विकेट तथा राज थापाले १ विकेट लिए । १ सय १० रनको जवाफी ब्याटिङ गरेको इटहरीले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा लक्ष्य भेटायो ।
इटहरीका लागि म्यान अफ द म्याच गौतम शर्माले सर्वाधिक ४२ रन बनाउँदा अंकित सुबेदीले २० रन र अलफाज मन्सुरीले १८ रन बनाए । धनगढीका सागर भण्डारी, नरेन्द्र साउद, शेर मल्ल, सिफटन अन्सारी र लोकेश बमले एक एक विकेट लिए ।
यस्तै आजै भएको दोस्रो सेमिफाइनल खेलमा प्रदेश २ ले जीएचसीए काठमाण्डौलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै इटहरी संगको उपाधी भिडन्त पक्का गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डौले निर्धारित २० ओभरको खेलमा १५ ओभर खेल्दै ७६ रनको योगफल खडा गरेको थियो । जवाफमा ७७ रनको बिजयी लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले १० ओभर खेल्दै १ विकेटको क्षतिमा सहज जित निकाल्न सफल भयो । खेलको म्यान अफ द म्याच प्रदेश नम्बर २ का रवि शाह घोषित भए । प्रतियोगिताको उपाधी भिडन्त सोमबार हुनेछ । बिजेताले नगद १ लाख ११ हजार रुपैया र उपबिजेताले नगद ५५ हजार र टफी पाउने छ ।