पूर्वाञ्चल खबर
विराटनगरको सिएमजी स्वस्थ क्लबले प्रदेश स्तरीय फुटबल प्रतियोगिता सहिद रंगशालामा शनिबारदेखि गर्न लागेको हो । क्लबका अध्यक्ष किशोर धमलाका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । ‘यो प्रतियोगिता अलि उमेर ढल्केकाले खेल्ने छन्,’ धमलाले भने, ‘यो प्रतियोगिता योजना गरेर नाफा कमाउने भन्दा पनि एउटा स्वास्थ्य व्यक्ति र स्वास्थ्य समाज निर्माण गर्नु हो ।’ धमलाले भने, ‘उमेर ढल्किँदै जाँदा शारीरिक व्ययम नगर्ने हाम्रो बानी भएकाले एउटा स्वास्थ्य समाज निर्माण गर्न भेट्रान फुटबल गर्न लागेका हौं ।’ यस्ता खेलकुद गतिविधिले सबै उमेर समूहका व्यक्तिको दैनिक शारीरिक व्ययम हुन्छ र निरोगी बन्छन् भन्ने हाम्रो मुख्य उद्देश्य हो धमलाले भने ।
‘पछिल्लो समय नेपालमा भेट्रान खेलप्रति आकर्षण बढ्दो रहेकोले पनि प्रतियोगिता गर्न लागेका हौं,’ धमलाले भने, ‘अगामिक वर्ष हुने भेट्रान प्रतियोगितामा हामी भारतबाट भेट्रानको राम्रो टिम ल्याउने छौं ।’
यस प्रतियोगितामा खेल्ने ११ खेलाडीमध्ये ३६ वर्षका २ जना, ३८ वर्षका ५ र ४० वर्षका ४ जना खेल्ने छन् । ‘प्रतियोगिता असोज २० देखि २७ गतेसम्म हुनेछ,’ धमलाले भने, ‘हामीले खेलाडीको उमेर खुल्ने परिचयपत्रको मुख्य आधार मतदाता परिचयपत्रलाई लिएका छौं ।’
प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । विराटनगरका आयोजक सिएमजी, हाटखोला भेट्रान क्लब, इटहरीको इटहरी भेट्रान क्लब, धरानको धरान भेट्रान क्लब, मोरङ कानेपोखरीको एभरेष्ट भेट्रान क्लब, झापाको विर्तामोडा भेट्रान क्लब, काँकडभिट्टा भेट्रान क्लब र दमकको पूर्वाञ्चल भेट्रान क्लबको सहभागिता रहेको छ । प्रतियोगिताका खेल हेर्न आयोजकले टिकट निशुल्क गरेको धमलाले बताए ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ र उपविजेताले नगद ७५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् । गतवर्ष यस प्रतियोगिताका विजेताले नगद ५१ हजार रुपैयाँ र उपविजेताले नगद ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा खेलाडीले व्यक्तिगत पुरस्कार म्यान अफ द सिरिज, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने छन् । त्यसैगरी प्रतियोगिता अवधिमा स्वास्थ्य उपचार न्यूरो अस्पताल विराटनगरले गर्ने समेत धमलाले बताए
उद्घाटन खेल झापाको विर्तामोड र सुनसरीको इटहरी भेट्रान क्लबबीच हुने आयोजकले जनाएको छ ।
।