RUMPUM
animated ellipse animated ellipse

जितिया पर्व र यसको महत्व

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ आश्विन २०७५, बुधबार १९:५१
405
Shares
तिलकुमारी शर्मा
तिलकुमारी शर्मा
आज आश्विन महिनाको कृष्ण पक्षको नवमी तिथी । अर्थात् जितिया पर्वको अन्तिम दिन । धुमधामसँग मनाइने यो पर्वको बारेमा यहाँ उल्लेख गर्न सान्दर्भिक होला भन्ने ठानेकी छु ।

के हो जितिया पर्व ?आमाले आफ्ना सन्तानको मंगलमय कामना गर्दै लिइने ब्रतलाई नै जितिया पर्व वा ब्रत भनिन्छ। जितियालाई जीवित्पुत्री, जिउतिया वा जिमुतवाहनको नामले पनि चिनिन्छ ।
जितिया पर्वको महत्वः–यस ब्रतमा पूरा दिन रात पानी समेत पिउनु हुँदैन । मुखमा आएको थुकसम्म निल्नु हुँदैन भन्ने चलन छ ।

विवाहित नारीले सन्तान सुख र प्राप्तिकालागि तथा सन्तानका आमाले सन्तानको रक्षाकालागि यो ब्रत लिने गर्छन् ।
सन्तानको सुरक्षाका लागि यो ब्रतको महत्व सबैभन्दा बढी भएको कथाहरूमा उल्लेख भएको पाइन्छ। यो ब्रत वा पर्वलाई तीन दिनसम्म मनाइन्छ।असोज कृष्ण पक्षको सप्तमी तिथिदेखी नवमी तिथीसम्म तीनदिन मनाउने गरिन्छ। तिनै दिनका विधि अलग अलग छन्। खासगरी मधेशी महिलाले मनाउने यो पर्व भारत तथा नेपालमा निकै महत्वका साथ मनाइन्छ। इच्छा भए अन्य जातजातिका महिलाले पनि यो पर्व मनाउन सक्छन्।

पहिलो दिन
सासुको देहावसान भएकी बुहारीले पहिलो दिन नुहाउने र चिसै कपडामा आफ्ना दिवङ्गत पितृका नाममा घिरौंलाको पातमा खरी (पिना), तेल, सिन्दुर हालेर चढाउनुपर्छ । जिमुतवाहन, चील सियारिन, सासु तथा अन्य महिला पितृहरुका नाममा चढाइन्छ । संभव भए खोला, नदी तलाउमा, संभव नभए आफ्नै घरको पानीको श्रोत भएको ठाउँ जस्तै धारा,ट्यूवेल,इनार आदिको छेउमा थाल वा आरीमा पानी राखी घिरौंलाको पातमा माथी उल्लेखित सामाग्री चढाइन्छ। अगरबत्ती देखाएर त्यसलाई विसर्जन गरिन्छ। सासु हुनेले विहानको यो विधी गर्नु पर्दैन।

सोही दिन दिउँसो माछा खानेले माछा र माछा नखानेले कोदोको रोटी वा कोदोको परिकार नुनियाको साग र झिगनीको सब्जीसँग खान्छन्। त्यसदिन रातीसम्म खान सकिन्छ। कसैले अष्टमी लाग्नु अगाडि दर खाने पनि गर्दछन्।अष्टमी लागेपछि भने मुखमा केही पनि लगाउन हुन्न।

दोश्रो दिन अर्थात् अष्टमी तिथीका दिन विहान नुहाएर बेलपत्र, फूल,जल आदी चढाएर अगरबत्ती देखाउने र दिनभर निर्जला ब्रत बस्नुपर्छ। बेलुकापख कसैले फलफूल,मिठाइका परिकारले डाली भर्ने गर्छन्। डालीलाई रातो कपडाले बाँधेर मानको (पिंडालुको जस्तै)पातले छोप्ने प्रचलन छ। कसैले थालमा पनि राख्ने गर्छन्। सक्नेले सुनको जितियाको प्रतिमा बनाउँछन् भने नसक्नेले धागाको पनि बनाएर डालामा वा थालमा राख्छन्। डालो भर्ने वा थालमा राख्ने भन्ने कुरा चाहिँ आफ्नो संस्कार र आर्थिकमा भर पर्दछ। त्यसपछि जितवाहन भगवानको ब्रत कथा सुनिन्छ। कथा श्रवणपछि स्वयम् ब्रत बसेका महिलाले डाली वा थालमा राखेको जितियाको प्रतिमा लगाउँछन्। कोही मन्दिर वा इष्टमित्रकहाँ गएर कथा सुन्छन् भने कतिपय आफ्नै घरमा पनि कथा पढ्ने र सुन्ने गर्छन्। खासगरी अष्टमी तिथीको प्रदोश कालमा धुमधामसँग मनाइन्छ यो पर्ब।

तेश्रो तथा अन्तिम दिन जसलाई पारण गर्ने र ब्रत पूरा गर्ने दिनको रुपमा चिनिन्छ।
नवमीका दिन कतिबेला साइत छ त्यतिबेला नुहाएर अनि लिप पोते गरेको ठाउँमा डालो वा थाल राख्छन्। चना केराउ, खिर,यदि मिठाइका परिकार बनाएका भए ति परिकार,दही,चिउरा आदी आफ्नो आर्थिक अवस्था र रीतिरिवाज अनुसारका परिकारहरु घिरौंलाको पातमा चढाउनुपर्छ। कसैले खीर चना मात्र पनि चढाउँछन्। चढाउने काम सकेपछि छोराले त्यो डालो उघार्छन्। यसलाई पारण गर्ने भनिन्छ। पूजापाठ सकेपछि प्रसाद खाने चलन छ। जसलाई पारण भनिन्छ।यसरी जितियाको तीन दिने ब्रत पूरा गर्ने चलन छ।

जितिया तिजको ब्रतसँग मिल्दोजुल्दो देखिन्छ। तीज श्रीमानसँग जोडेर लिइन्छ भने जितिया सन्तानसँग। पहिला पहिला तिजमा पनि २४ घण्टा निर्जला ब्रत बस्ने चलन थियो। आजकाल तिजमा आफ्नो स्वास्थ्यको ख्याल गर्दै नून र अन्न बाहेकका खानेकुरा खाएर ब्रत बस्ने चलन भएको छ। तर जितियामा यसरी खान नहुने बताउँछिन् मिनादेवी साह ।

बीस बर्षको उमेरमा छोरी१ बर्षकी हुँदादेखि नै जितियाको ब्रत लिँदै आएकी छन् उनले। विराटनगर वडा नं. ९ सिद्धार्थ टोल निवासी मीना को अनुभव छ “२७ बर्षदेखि निरन्तर ब्रत लिँदै आएकी छु। आजसम्म कुनै अप्ठ्यारो महसुस भएको छैन। अब चाहिँ अलिक कमजोरी भएको जस्तो लाग्छ।“ खिस्स हाँस्दै अगाडी थप्छिन् “उमेर ढल्किएर पनि होला।“

त्यसैगरि विराटनगर ८ मधुमारा निवासी लक्ष्मी साहले २२ बर्षको उमेरमा छोरी दुई बर्षकी हुँदादेखि जितियाको ब्रत लिएको बताउँछिन्। “७ बर्ष भयो यो ब्रत लिएको। बिचमा छोरो जन्मियो। त्यतिबेला लिईन। बाँकी सबै बर्ष निरन्तर लिँदै आएकी छु“ उत्साहका साथ सुनाउँछिन् लक्ष्मी।

पहिला पहिला यो ब्रत छोराको लागि लिइन्थ्यो भने अब छोरी हुनेले पनि लिन थालेका छन्।अब सन्तानकालागि भन्न थालिएको छ। सन्तानको सुरक्षाका लागि यो ब्रतको महत्व सबैभन्दा बढी भएको ब्रत कथाको महत्वमा दर्साएको पाइन्छ। जितवाहन ब्रत कथामा यस्तो उल्लेख गरेको पाइन्छ।

कतिपय कथा महाभारत
सँग सम्बन्धित छन् त कतिपय पौराणिक कालसँग सम्बन्धित छन् ।

पहिलो कथा

जीवित्पुत्री वा जिउतिया वा जिमुतवाहनको कथाः

पौराणिक कालमा गन्धर्वका राजकुमारको नाम जिमुतवाहन थियो। उनी ज्यादै सभ्य,उद्धार र परोपकारी हृदयका थिए। उनका पिताले बृद्धाबस्थामा बालवृष्ट आश्रममा जाँदा यिनलाई सिंहासनमा बसाए। तर उनलाई राजपाठमा मन लागेन। राज्यको भार आफ्ना भाइहरूको जिम्मा लगाएर पिताको सेवा गर्न वन गए। उतै मलायवती नामकी राजकन्यासँग विवाह भयो। एकदिन वनमा भ्रमण गर्ने क्रममा जिमुतवाहन धेरै अगाडि गए। त्यहाँ रुदै गरेकी एक वृद्धालाई भेटे र रुनुको कारण सोधे। बृद्धाले आफु रुनुको कारण यसरी बताइन् ’म नाग वंशकी स्त्री हुँ। मेरो एउटा मात्र छोरो छ शंकरचुर्ण। पंक्षीका राजा गडुडलाई प्रत्येक दिन एउटा सर्प सुम्पिनु पर्छ। आज मेरो छोराको पालो परेको छ। यसैकारण रोएकी हुँ।’ बृद्धाको कुराले जिमुतवाहन व्याकुल बने।

उनले ति बृद्धालाई आश्वस्त पार्दै भने ’नडराउ म तिम्रो छोराको प्राणको रक्षा गर्छु।’
यति भनेर ति बृद्धाको हातबाट रातो कपडा लिएर त्यसमा आफुलाई बेरेर गडुडलाई बली दिनका लागि बन्दशिलामा सुते। समय हुनासाथ गडुड आए र कपडा सहित जिमुतवाहनको शरीर आफ्नो खुट्टाले समाएर पहाडको शिखरमा लगेर बसे।आफुले पक्रिएको प्राणीको आँखाबाट आँसु र मुखबाट आवाज नआएपछि गडुड बडो आश्चर्यमा परे। सो प्राणीसँग परिचय मागे। जिमुतवाहनले आफुले यसो गर्नुको कारण बताए। गडुडजी उनको बहादुरी र दोश्रोको प्राण रक्षा गर्नकालागि स्वयंको बलिदानी गर्न लागेकाले उनको हिम्मतको कदर र प्रशंसा गर्दै प्रसन्न भएर गडुडजीले उनलाई जीवनदान दिए। साथै अबदेखि नागले बली दिनु नपर्ने पनि बचन दिए। यसरी जिमुतवाहनको शाहसले नाग जातीको रक्षा भयो। त्यसै समयदेखि आफ्ना पुत्रको रक्षाकालागि जिमुतवाहनको पूजाको प्रथा शुरु भयो।

दोश्रो कथा चील र सियारिनको

समुन्द्रको नजिक नर्वदा नदीको किनारमा कंचरवटी नामको एउटा नगर थियो। त्यस नगरका राजाको नाम मलायाकेतु थियो। नर्वदा नदीदेखि पश्चिम एउटा मरुभूमि जमिन थियो। जसलाई वालुहट नामले चिनिन्थ्यो। त्यहाँ एउटा पाकरको ठूलो रुख थियो । त्यो रुखको हाँगामा एउटा चिल र फेदमा स्याल बस्दथ्यो। यि चिल र स्याल दुवै एकअर्काका घनिष्ट मित्र थिए। एकदिन उनीहरुले वनमा महिलाहरुले जीवित्पुत्रीको ब्रत बसेर पूजा गर्दै गरेको देखे। उनीहरुले पनि सामान्य महिलाले जस्तै माता शालिबहिनकी पुत्र भगवान् जिमुतवाहनर जितियाको पूजा गर्ने उद्देश्यले ब्रत बसे। संयोगवश त्यसै दिन त्यस नगरका सबै भन्दा ठूला व्यापारीका छोराको मृत्यु। त्यसै मरुभूमिमा अन्तिम संस्कार गरे। स्यालले मुर्दा देखेर आफ्नो भोकलाई रोक्न सकेन। उसले त्यो मुर्दा खायो। चिलले रोक्दा पनि ऊ रोकिएन, मुर्दा खाएरै छाड्यो। चिलले निष्ठापूर्वक अन्य महिलाले जस्तै विधि विधानले ब्रत पूरा गरिन्।

अर्को जन्ममा ब्राम्हण परिवारका भाष्करका घरमा चील जेठी दिदी र स्याल कान्छी बहिनीका रुपमा जन्मिए। दिदीको नाम शिलवती र बहिनीको कपुरावती राखियो। शिलवतीको विवाह बुद्धीसेनसँग र कपुरावतीको विवाह त्यसै नगरका राजा मलायकेतुसँग भयो। उनी कंचरवटी नगरकी रानी भइन्। समय भित्दै जाँदा भगवान जिमुतवाहनको आशिर्वादले शीलवतीका
७ वटा छोरा भए। तर कपुरावतीको बच्चा जन्मँदै मर्दै गरे। समय बित्दै जाँदा शीलवतीका छोराहरू ठूला भए र जागिरको खोजी गर्दा उसै राजदरबारमा नोकरी पाए। ति ७ जना युवकलाई देखेर कपुरावती इर्ष्याले जल्न लागिन् र मार्ने योजना बनाइन्। आफ्नो योजनामा राजालाई पनि सामेल गरिन्। योजना अनुसार सातै जनाको शीर काटेर भाँडामा राखी रातो कपडाले बेरेर शीलवतीका घरमा पठाइयो। जुन कुरा भगवान् जिमुतवाहनले थाहा पाए। झटपट उनले माटोको शीर बनाइ काटेको शरीरमा जोडी अमृत छर्किए। सातै जना युवक जिउँदा भएर घर फर्किए। उता सातै युवाका पत्नीहरू आफ्नो पतिको शीर राखिएको भाँडा हातमा लिए। भगवान जिमुतवाहनको आशिर्वादले सबै शीरहरु फलमा परिणत भए। युवकहरू पनि घरमा पुगे।

यता कपुरावती दिदीको घरको खबर सुन्न आतुर थिइन्। शीलवती र सातै बुहारीको रोएको आवाज सुन्न व्याकुल थिइन। तर कुनै पनि आवाज नआएपछि रानी कपुरावतीले दासीलाई पठाइन्।दासी फर्केर आइन् र त्यहाँ रुवावासी होइन सातै छोराहरुका साथमा हाँसीखुशी मनाएको कुरा सुनाइन्। यति सुनेपछि उनलाई राजामाथि शंका लाग्यो। राजालाई उनले सोधिन्। रानीले भनेजस्तै गरेको र आफुले कुनै धोका नदिएको आश्वस्त पार्दै राजाले भने ’यस्तो लाग्छ कि त्यस परिवारमा भगवानको आशिर्वाद छ। त्यसैले सबै बचे।’ कपुरावती स्वयं गइन् र सारा बृतान्त दिदीलाई सुनाइन् र कसरी बाँचे भन्ने कुरा सोधखोज गरिन्। आफ्नो तपस्याका कारण शीलवतीलाई अघिल्लो जन्मका सारा कुरा याद आए। त्यसपछि शीलवतीले कपुरावतीलाई त्यस रुखको छेउमा लगिन जुन रुखमा उनीहरु पूर्वजन्ममा बस्थे। त्यसपछि उनले अघिल्लो जन्ममा गरेका सबै कुरा बताइन्। यो सुनेर कपुरावती बेहोस भएर ढलिन् र त्यहीं मरिन्। राजाले कपुरावतीको त्यहीं अन्तिम संस्कार गरिदिए।

शीलबतीले बढो श्रद्धा र निष्ठाका साथ जितियाको ब्रत बसिन्। ब्रतको प्रभावले सात वटा पुत्र भए र छोराहरु शंकटबाट पनि मुक्ति पाए। कपुरावतीले लिएको ब्रत पनि तोडिन्। फलस्वरुप कपुरावती निःसन्तान् भै पाप र जालझेल गर्दै मर्नु पर्यो। यिनै कथालाई आधार मान्दै र विश्वास गर्दै जितिया पर्व प्रत्येक बर्ष महिमाका साथ मनाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर