पूर्वाञ्चल खबर
अब मापसे गर्ने चालकले परीक्षा दिनु पर्नेछ । परीक्षामा ८० प्रतिशत सही उत्तर दिए मात्र थप कारवाही प्रकृया अघि बढ्छ । ‘बढदो सवारी दुर्घटना नियन्त्रण गर्न हाम्रो नयाँ प्रयास हो’ मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसी भन्छन्, ‘परीक्षा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर अथवा अनलाइनबाट पनि दिन सकिन्छ ।’दशैं तिहार तथा छठ पर्वमा लागू गरिएको नियमलाई निरन्तर अघि बढाउने केसीले जानकारी दिए । केसीका अनुसार असोज २३ गतेदेखि जिल्ला प्रहरी कार्यालयमा प्रत्येक दिन ९ बजे परीक्षा सञ्चालन गरिने छ । ‘कारवाही प्रकृया अघि बढाउन मापसेकर्ताले सोधिएको प्रश्नको ८० प्रतिशत सही उत्तर दिनुपर्छ’ उनले भने ‘८० प्रतिशत सहि उत्तर नदिएसम्म कारवाही प्रकृया अघि बढ्दैन ।’
यसअघि मापसे गर्ने सवारी चालकलाई जरिवाना तिराएर सचेतना कक्षा लिँदै छाड्ने गरिएको थियो । तर, अब भने मोरङ प्रहरीले कारवाही गर्न पनि परीक्षा लिने भएको हो ।
परीक्षामा ट्राफिक नियम, मापसे गर्दा हुने कारवाहीलगायतका विषयमा ८० वटा प्रश्न सोधिनेछ । परीक्षामा विशिष्ट श्रेणी अर्थात ८० प्रतिशत उत्तर मिलाउनेलाई मात्र जरिवाना तिराएर लाइसेन्स दिइनेछ ।
अनलाइनमार्फत घरमा बसेरपनि परीक्षा दिन सकिनेछ । ‘घरमै बसेर परीक्षा दिने हो भने प्रहरीले लाइसन्स जफत गर्दा दिएको चिठको नम्बर हालेपछि मात्र परीक्षा दिन पाइन्छ’ उनले भने ‘वेभसाइट खोलेर दिएको परीक्षा हामी कहाँ रेर्कड हुन्छ ।’ वेभसाइट खुल्ने वितिकै अटोमेटिक भिडियो रेकर्ड हुने बताउँदै उनले मापसे सेवनकर्ता वा अरुले नै परीक्षा दिएको पनि पत्ता लगाउन सकिने जानकारी दिए ।मापसे चालकलाई लिइने परीक्षा दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी हुने बताइएको छ ।
यस अघि मापसे गरेर सवारी साधन चलाउने चालकलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ सम्म जरिवाना र सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा प्वाल पार्ने कारवाही गर्दै आएको थियो । चालकलाई राखेर सचेतना कक्षा पनि संचालन गरिंदै आएको थियो ।
परीक्षा उत्तीर्ण नगर्ने चालकले प्रहरी नियन्त्रणमा रहेका कागजपत्र र सवारी साधन फिर्ता लिन पुःन अर्को पटक परीक्षा दिनु पर्ने छ । परीक्षा उत्तीर्ण नगर्नेले फिर्ता पाउने छैनन् ।
साउन यता मात्रै मोरङमा एक सय ७१ वटा सवारी दुर्घटना भएका छन् । ८० प्रतिशत दुर्घटना चालकले मापसे गरेका कारण भएको पाइएको छ । दुर्घटनामा परेर साउन यता मात्रै मोरङमा १७ जनाको मृत्यु भएको छ ।