पूर्वाञ्चल खबर
विज्ञान तथा प्रविधि,दिगो विकास र समृद्धि मूल नारा रहेको यस वर्षको विज्ञान दिवस पहिलो पटक विराटगनरमा मनाइएको हो । प्रदेश नं १ का लागि नेपाल जैविक समाजले संयोजन गरेको सो कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका सभापति नरेशप्रसाद पोखरेलले वैज्ञानिक मतिष्कहरु विदेशिनु दुःख लाग्दो भएको बताए । उनले राज्यले यस्ता तिक्ष्ण बुद्धि भएका जनशक्तिलाई स्वदेशमा रोक्न नसकेमा देश विकास हुन गाह्रो हुने बताए ।
विज्ञान दिवस,असोज १ को अवसरमा आयोजित सो कार्यक्रममा वातावरण विज्ञानका जानकार रामचन्द्र अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा विज्ञान विकासको सिलसिला देखाए । उनले मुलुकको समृद्धिका लागि विज्ञानलाई अंगिकार गर्न आवश्यक ठहरार्याए । प्राविधिक जनशक्तिलाई राज्यले स्वदेशमै काम दिन र विभिन्न स्थानमा अनुसन्धान केन्द्र खोल्न राज्यसँग माग गरे ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहालले विज्ञानले जीवनलाई सजिलो बनाउने सामग्रीहरु आविष्कार गरेर अनिवार्य आवश्यकतामा ल्याइदिएको बताउनुभयो । प्राडा रामबहादुर थापाले विश्वले धरै उन्नति गरिसकेको भए पनि हाम्रो देशले स्वदेशमै रहेका वैज्ञानिकलाई चिन्न नसक्दा विकास हुन नसकेको औँल्याए । पूर्वाञ्चल विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्राडा मीनराज ढकालले अनुसन्धान गरेर त्यसको उपजलाई मानिसको जीवन र विकाससँग जोडे मात्र विज्ञानको मर्म पूरा हुने बताए । त्यसैगरी प्राडा तेजनारायण मण्डलले देशको विकास गर्नलाई राज्यले वैज्ञानिकहरुको खोजी गरी उनीहरुलाई यथोचित परिचालन गनुपर्नेमा जोड दिए ।
त्यसैगरी प्राणीशास्त्री सुशील झाले नेपालमा राजनीतिक व्यवस्था र सरकार स्थिर रहन नसकेकोले विज्ञानलाई बुझ्न र यसमा बजेट विनियोजन हुन नसकेको बताए । कार्यक्रममा बोल्दै स्नातकोत्तर क्याम्पस विराटनगरका प्राणीशास्त्र विभाग प्रमुख प्राडा दामोदर थापाले प्रदेशस्तरमा अनुसन्धान केन्द्र खोलिनुपर्ने र नाष्टलगायतका संस्थाहरुका प्रदेश शाखाहरु विस्तार हुनुपर्ने धारणा राखे । नर्सिङ क्याम्पस विराटनगरकी प्रमुख मेनुका भण्डारीले नर्सहरु विदेशिनु नमज्जाको कुरा हो भन्दै उत्पादित नर्सिङ वैज्ञानिकहरुलाई स्वदेशमै सम्मानजनक किसिमले काम गर्ने वातावरण बनाउन जरुरी भएको बताइन् ।
कार्यक्रमको सभापतिसमेत रहेका नेपाल जैविक समाजका अध्यक्ष प्राडा शशीनाथ झाले विज्ञान विकासको मेरुदण्ड भएको हुनाले यसलाई सबैले रक्षा र प्रवद्र्धन गनु पर्ने बताए । उक्त कार्यक्रममा विज्ञानसँग सम्बन्धित विभिन्न व्यक्तिहरुको उपस्थिति थियो । सो कार्यक्रम संस्थाका सचिव प्राडा शिवकुमार राईले सञ्चालन गरेका थिए ।