पूर्वाञ्चल खबर
बम विष्फोटको घटना नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गराएको आशंकामा प्रहरीले सो पार्टीका केही कार्यकर्तासहित नौजनालाई पक्राउ गरेको थियो । तर, घटनामा उनीहरूको संलग्नता पुष्टि नभएकोले उनीहरूलाई थुनामुक्त गरिरहेको छ ।
पक्राउ परेकाहरूको घटनामा संलग्नता नदेखिएपछि महानगरको सिसिटिभी फुटेजबाट दोषीसम्म पुग्ने प्रहरीको अपेक्षा थियो । कार्यालयभित्र भएको घटना अनुसन्धानको प्रहरीले महानगरको सिसिटिभीको रेकर्ड राखिने कम्प्युटरको हार्डडिस्क लिएर गएको थियो । तर, हार्डडिस्कमा कुनैपनि फुटेज भेटेको छैन् । महानगरमा आठवटा सिसिक्यामेरा जडान गरी प्रमुख भीम पराजुलीले कार्यकक्षबाट त्यसको निरीक्षण गर्ने गरेका थिए । तर सिसि टिभी फुटेजमा कुनै रेकर्ड पनि भेटिएको छैन् ।
मेयर पराजुलीका अनुसार महानगरको सिसिटिभी अपडेट थियो र रेकर्ड पनि नियमित थियो । तर, बम विष्फोटपछि प्रहरीले लगेको सिसिटिभीको रेकर्ड राखिएको कम्युटरको हार्डडिस्कमा कुनै पनि रेकर्ड फेला नपरेको मोरङ प्रहरीका एसपी मनोजकुमार केसीले बताए । महानगरले सिसिटिभी जडान गरेको भए पनि रेकर्डिङ मोडमा नराखिएकाले बम विष्फोटको दिन महानगरको गतिविधि रेकर्ड नभएको प्रहरीले जनाएको छ । सीसीटीभीको रेकर्ड नभेट्दा अनुसन्धान लम्बिएको एसपी केसीले बताए।
महानगर प्रमुख पराजुलीले भने सिसिटिभीको फुटेज रेकर्ड नहुने कुरा असम्भव रहेको दाबी गरेका छन् । आफूले घटनाभन्दा केहि समयअघि हेर्दा सिसिटिभी रेकर्ड अपडेट रहेको दाबी गर्दै प्रमुख पराजुलीले कसरी अहिले खाली देखियो भन्नेतर्फ पनि अनुसन्धान गर्नु पर्ने बताए ।
प्रहरी र महानगर प्रमुखको सिसिटिभी फुटेज बारेको फरक–फरक भनाइले घटनालाई थप रहस्यमयी बनाएको छ। सो घटना विप्लब नेतृत्वको नेकपाले गराएको आशंका प्रहरीले गरे पनि सो पार्टीले खण्डन गरेको थियो ।
गत आइतबार कार्यालय समयमा महानगरको माथिल्लो तलामा रहेको प्रमुखको कार्यकक्ष अगाडिको सेवाग्राही बस्ने स्थानमा अज्ञात समूहले बम विष्फोट गराएको थियो। विस्फोटबाट त्यहाँका फर्निचर, झ्यालका सिसा र आगनमा पार्किङ गरिएको प्रमुख चढने गाडीको सिसामा क्षति भएको थियो ।