पूर्वाञ्चल खबर
झोराहाट नाट्य समूह र ओरेक नेपालको संयुक्त आयोजनामा भएको ‘लैंगिक हिंसा न्यूनीकरणमा युवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा विराटनगरस्थित सिटी कलेजका छविलाल भण्डारी प्रथम भए । त्यस्तैगरी मोर्डन–एराकी छात्रा विद्या भट्टराईले द्वितीय, रंगेलीस्थित मिनील्याण्ड अंग्रेजी स्कुलका रञ्जन राजवंशीले तृतीय र लेटाङका योगराज दाहालले सान्त्वना स्थान प्राप्त गरे । साहित्यकार शंकर सुवेदी ‘उत्स’ र शुभलक्ष्मी लम्साल निर्णायक रहेको प्रतियोगितामा ८ जना युवाले सहभागिता जनाएका थिए । प्रतियोगिताका विजेताहरूलाई जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा संयोजक पोखरेलले लैंगिङ हिंसा न्यूनीकरणमा युवाको भूमिका महत्वपूर्ण हुने धारणा राखे । उनले युवा जागरुक नभएसम्म समाज रुपान्तरण हुन नसक्ने दाबीसमेत गरे । त्यस्तै झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागार्इं, प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदित, ओरेक मोरङकी निमित्त प्रमुख शोभा बजगार्इं, कवि प्रयाग न्यौपाने, उमेश लुइँटेल ओरेककै दीपक सेञ्जुरीलगायतले समाजमा बढ्दै गएको लैंगिक हिंसा रोक्न युवाहरू जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।