पूर्वाञ्चल खबर
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले ल्याव परीक्षण गर्दा ११ वटा उद्योगको प्रशोधित पानीमा कोलिफर्म भेटिएको थियो । कोलिफर्म भेटिएका अधिकांश उद्योगको पानी अहिले विराटनगरको बजारमा छ्यापछ्प्ती भेटिने गरेका छन् । बजार अनुगमनमा सम्बन्धित निकाय अहिले मौन देखिएको छ ।
विराटनगरको १० वटा र मोरङको बूढीगंगा गाउँपालिकाको एक गरी ११ उद्योगमा कोलिफर्म कीटाणु भेटिएको थियो । किशनकुमार रायको श्री जल उद्योगको ‘सूर्य जल, रामप्रसाद साहको शीतल जल उद्योगको ‘शीतल जल’, पङ्कज कर्णको जोनसनजल उद्योगको ‘जोनसन अक्वा’ पानीमा कोलिफर्म फेला परेको हो । अहिले पनि बजारमा खुलेआम बिक्री भइरहेको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले बताए ।
त्यस्तै रामविलास साहको तिरुपतिजल उद्योगको ‘श्रीजल’, रामविलास साहको पूजाफूड एण्ड वेभरेज प्रालिको ‘क्वा पूजा’, सुमित साहको माउण्टेन वाटर उद्योगको ‘माउण्टेन’ पानी बजारमा भेटिने गरेका छन् ।
डिम्पल शर्माको दिव्यश्री जल उद्योगको ‘इभान एचटु’, सुरेन्द्र लगरवारको शुभजल उद्योगको ‘शुभजल’ पानी पनि खुलेआम बिक्री भइरहेका छन् ।
‘कोलिफर्म देखिएका उद्योगको पानी अहिले पनि बजारमा छ्यापछ्प्ती देखिन्छ’ अध्यक्ष ढुङ्गेलले भने, ‘नियमनकारी निकायले जफत नगर्दा कोलिफर्म किटाणु रहेको पानी बिक्री वितरण भइरहेको छ । स्वास्थ्यलाई असर गर्ने यस्तो पानी तत्काल जफत गरी नष्ट गर्नु पर्दछ ।’
कोलिफर्म किटाणु देखिएका ११ उद्योगमध्ये ९ वटा उद्योगको पानी हाल बजारमा भेटिने गरेको छ । तीनवटा उद्योग यसअघि नै अनुगमनको क्रममा अनुज्ञापत्र बेगर सञ्चालित भएकाले सिलबन्दी गरिएको छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्रालयका उपसचिव गोपी घिमिरेले जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण र वाणिज्य कार्यालयलाई बजार अनुगमन गरी कोलिफर्म किटाणु भेटिएको पानी जफत गर्न निर्देशन दिएको बताए । गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले कोलिफर्म किटाणु भेटिएको उद्योगको पानी उत्पादन गर्न अहिले रोक लगाएको बताए । उनले भने, ‘बजारमा गएको कोलिफर्म भएको पानी सम्बन्धित उद्योगलाई फिर्ता ल्याउन मौखिक जानकारी गराएको छौं ।’
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कोलिफर्म किटाणु भेटिएको उद्योगको पानी तत्काल नष्ट गर्नु पर्ने बताए । कोलिफर्म किटाणु भएको पानी पिउनाले ज्यानै जानसक्नेसम्मको खतरा हुने चिकित्सकहरुले बताउँछन्।