पूर्वाञ्चल खबर
प्रहरीले ठगि गरेको आरोपमा प्राइम सहकारीका उपाध्यक्ष तथा सञ्चालक विष्णु सुवेदीलाई पोखराबाट पक्राउ गरेको हो । पक्राउ परेका सुबेदी नेपाल टेलीकम विराटनगरको क्षेत्रीय कार्यलयमा कार्यरत कर्मचारी हुन् । यसअघि प्रहरीले आइतबार पोखराबाटै सहकारीका मुख्य सञ्चालक इश्वर श्रेष्ठलाई पक्राउ गरेको थियो । प्रहरीले खोजी गरेको तीन महिनापछि उनीहरुलाई पक्राउ गरिएको मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए ।
पक्राउ परेका श्रेष्ठ र सुवेदीलाई हवाइमार्ग हुँदै आजर विहान मोरङ ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले दुबै जनालाई ठगी मुद्दामा जिल्ला अदालत मोरङमा सोमबार ७ दिनको म्यात थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
सहकारीको करडौं रुपैयाँ अपचलन गर्ने मुख्य व्यवस्थापक तथा सहकारीका सचिव इश्वर श्रेष्ठ रहेको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले जानकारी दिएका छन् । सहकारीको करडौं रुपैयाँ अपचलन गरि लामो समयदेखि फरार भएका श्रेष्ठ र सुवेदी पोखरामा रहेको उनको ‘एलोबेरा जुस फ्याक्ट्रीबाट’ पक्राउ परेको बताइएको छ ।
विराटनगर–१ बुद्धचौक घर भएका श्रेष्ठले सहकारीको करोडांै रुपैयाँ अपचलन गरि पोखरामा सञ्चालनमा ल्याएको जुस फ्याक्ट्री र विराटनगरमा रहेको थुक्पा उद्योगमा लगानी गरेको बुझिएको छ । लामो समयदेखि विराटनगर – ९ बाटारोडमा सञ्चालनमा आएको सहकारीले १ सय ३८ जना बचतकर्ताको २ करोड २८ लाख ३ हजार २ सय ४२ रुपैयाँ रकम हिनामिना गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका छन् ।