क्रोएसियालाई पराजित गर्दै फ्रान्स बन्यो दोश्रो पटक विश्व विजेता
पूर्वाञ्चल खबर
३१ असार २०७५, आईतवार २२:५८
3
Shares
विराटनगर / क्रोएसियालाई पराजित गर्दै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ ।
आज राति भएको फाइनल खेलमा फ्रान्सले क्रोएसियाको चुनौतीलाई ४– २ गोल अन्तरले पन्छाउँदै २० वर्षपछि उपाधि हात पार्न सफ भएको हो ।
यसअघि फ्रान्सले सन् १९९८ मा आफैले आयोजना गरेको विश्वकपको फाइनलमा ब्राजिललाई ३–० को गोल अन्तरले पराजित गरि पहिलो पटक विश्वकपको उपाधि जितेको थियो ।
खेलको १८ मिनेटमा क्रोएसियाका फरवार्ड मारियो मान्जुकिकले आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्सले अग्रता लिएको थियो । डिबक्स बाहिर पाएको फ्रिकिकमा फ्रन्सका एन्टोनी ग्रिजम्यानले हानेको प्रहारलाई छेक्ने क्रममा मान्जुकिकको हेडर आफ्नै पोस्टमा छिरेको थियो । मान्जुकिक विश्वकपको फाइनलमा आत्मघाती गोल गर्ने पहिलो खेलाडी बने । २८ औं मिनेटमै क्रोएसियाका इभान पेरिसिकले बराबरी गोल गरे ।
क्रोएसियाले खेल बराबरीमा ल्याएको १० मिनेटमै फेरि फ्रान्सले पाएको पेनाल्टीलाई फ्रान्सका एन्टोनि ग्रिजम्यानले गोलमा परिणत गरे । यसपटक पनि फ्रान्सले गोल गर्न क्रोएसियाकै खेलाडीको गल्तिको फाइदा उठायो । कर्नर बलमा पेरिसिकले ह्यान्ड गरेपछि रेफ्रीले भिएआर रिभ्यूमार्फत पेनाल्टी दिने निर्णय गरेका थियो ।
खेलको ५९ औं मिनेटमा फ्रान्स पाउल पोग्वाले तेस्रो गोल गरे । ६५ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ४–१ ले अघि बढाए। एमबाप्पेले डिबक्स नजिकबाट उत्कृष्ट गोल गरेका थिए। उनले २०१८ विश्वकपमा चार गोल गर्न सफल भए। क्रोएसियाका लागि सान्त्वना गोल मारियो मान्जुकिजले ६९ औं मिनेटमा गरे ।
पहिलो पटक फाइनल पुगेको टिम क्रोएसियाले बलमाथि धेरै नियन्त्रण राखे पनि गोल गर्न नसक्दा हार व्यहोर्न पुग्यो ।