इंग्ल्याण्डलाई स्तब्ध पार्दै क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा

खबर पूर्वाञ्चल, २८ असार २०७५, बिहीबार ०२:४०

विराटनगर / सन १९६६ को विश्व विजेता इंग्ल्याण्डलाई स्तब्ध पार्दै क्रोएसिया रसियामा जारी विश्वकप फुटबलको फाइनलमा पहिलो पटक प्रवेश गर्दै ऐतिहासिक सफलता हात पारेको छ । विश्वकप फुटबलको इतिहासमा क्रोएसिया फाइनलमा पुग्ने १३ औं राष्ट्रसमेत बनेको छ ।

आज भएको दोस्रो सेमिफाइनल खेलमा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै आइतबार हुने विश्वकपको फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

क्रोएसिया यसअघि सन १९९८ को विश्वकपको पहिलो सहभागितामै सेमिफाइनलमा पुगेको थियो । तर आयोजक फ्रान्ससँग २–१ ले पराजित हुँदा फाइनल पुग्ने अवसर गुमाएको थियो । फाइनलमा फ्रान्सलाई पराजित गरि १९९८ मा सेमिफानलमा पराजित भएको बदला २० वर्षपछि लिने ऐतिहासिक अवसर समेत पाएको छ । खेलमा पछि परेको अवस्था उल्टाएर क्रोएसियाले रोमाञ्चक जित हात पारेको हो ।

क्रोएसियाका लागि खेलको १०९ मिनेटमा मारियो मान्डुकिचले गरेको गोल निर्णायक बन्यो । उनले इभान पारिसिकले डिबक्स भित्र हेडमार्फत मिलाएको पासमा उत्कृष्ट फिनिसिङ गरेका थिए ।निर्धारित समयमा १–१ गोलको बराबरी खेल सकिएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो ।

थप समयमा दुवै टिमले गोल गर्ने अवसर गुमाएका थिए । इंग्ल्याण्डका जोन स्टोन्सले सिक्स यार्ड बक्सबाट हानेको हेडरलाई क्रोएसियाका ह्यारी म्यागियुरले गोललाईबाट हेडमार्फत नै बचाएका थिए । यस्तै क्रोएसियाका मारियो मान्जुकिक पनि सफल हुनसकेनन् । क्रस बलमा मान्जुकिकको प्रहारलाई इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्ड जोगाएर टिमको संकट टारे ।

खेलको पाँचौ मिनेटमा इंग्ल्याण्डले पाएको फ्रिकिकलाई केइरन ट्रिपियरले डिबक्स नजिकबाट गरेको प्रहारले जाली चुमेपछीइंग्ल्यान्डले सुरुवाती अग्रता लिएको थियो । ट्रिपियरको प्रहारलाई रोक्न क्रोएसियाका गोलकिपर डानिजेल सुबासिकले कुनै मौका नै पाएनन् ।

एक गोलले पछाडी परेपछि दबाबमा परेको क्रोएसियाले ६८ मिनेटमा इभान पेरिसिकले इंग्ल्याण्डका डिफेन्डर केल वाल्करलाई बिट गर्दै बराबरी गोल फर्काए । उनले सिमे भर्साक्कोले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.