पूर्वाञ्चल खबर
नियमनकारी निकायले निर्माण व्यवसायीलाई दोष देखाउने र व्यवसायीले सामग्री अभावलगायत कारण देखाउँदा विकास निर्माण समयमै सम्पन्न हुन नसक्दा लागत बढ्दै गएको छ। सरकारले तोकिएको समयमा काम नसक्ने निर्माण व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाएपछि केही व्यवसायीले कामलाई निरन्तरता दिएको जानकारी सम्बन्धित कार्यालयले दिएका छन्।
जिल्ला प्रशासन कार्यालय, इलामले केही साताअघि अधुरा आयोजना, ठेक्का लिएका कम्पनी र तिनका प्रतिनिधिको नामसहितको विवरण गृह मन्त्रालयमा पठाएको थियो। उन्नति परियोजनाअन्तर्गत जिल्ला प्राविधिक कार्यालयको प्राविधिक रेखदेखमा भइरहेको सडक निर्माण सुस्त गतिमा थियो। फिक्कल–नयाँबजार सडक स्तरोन्नतिको काम यही असार मसान्तसम्म सक्नुपर्ने हो तर, अहिलेसम्म ५५ प्रतिशत मात्रै काम भएको प्रमुख जिल्ला इन्जिनियर ओमराज ढुंगानाले बताए।
हिउँदमा सुस्ताएको काम जेठ र असार लागेपछि धमाधम भइरहेको छ। यही परियोजनाका ५ सडकको काम अहिले जिल्लामा धमाधम भइरहेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार साबिक माइमझुवा गाविस–७ र माबु–२ बीचको माइखोलामा निर्माणाधीन पक्की पुलको काम धमाधम भइरहेको छ । १ करोड ७० लाख ५५ हजार रुपैयाँमा ठेक्का लागेको सो पुल सेप्टेम्बर २०१७ मै सक्नेगरी पहिलोपटक सम्झौता भएको थियो । तर, पटक–पटक गरी तेस्रो पटक थपिएको म्याद पनि गत मेमा सकिएको छ। ‘यो पुलको काम अहिले धमाधम छ,’ ढुंगानाले भने, ‘असार मसान्तभित्र तोकिएको डिजाइन सबै त सकिँदैन तर, ढलाइसम्म हुन्छ।’ यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।