देउवाले टिकट बाँड्दा गल्ती भयो भनेपछि पौडेलको यस्तो प्रतिक्रिया

खबर पूर्वाञ्चल, ९ असार २०७५, शनिबार ०७:४८
फाइल तस्वीर

हेटौंडा /असार ५ गतेबाट हेटौंडामा सुरु कांग्रेस जिल्ला सभापतिहरूको राष्ट्रिय भेला २१ बुँदे ‘हेटौंडा घोषणापत्र’ जारी गर्दै शुक्रबार सकिएको छ ।

संघीय संरचनाअनुसारको विधान संशोधन, संगठन सुदृढीकरण र वर्तमान राजनीतिक अवस्थाप्रति केन्द्रित रहेको जिल्ला सभापतिहरूको राष्ट्रिय भेला २१ बुँदे घोषणापत्र जारी गर्दै चौथो दिनमा सकिएको हो ।

भेलाले पार्टीभित्र रहेका विभिन्न गुटको अन्त्यका लागि समेत नेताहरूलाई एक ठाउँ उभिन दबाब सिर्जना गरेको छ । जारी घोषणापत्रमा कांग्रेसले भेलामार्फत प्राप्त सुझावलाई आगामी महासमिति बैठकमार्फत परिमार्जन गर्ने निष्कर्ष निकालेको छ । यस्तै, विगतको निर्वाचनमा प्राप्त परिणामलाई समेत भेलाले गम्भीर रूपमा लिएको छ ।

भेलाको समापनका क्रममा सभापति शेरबहादुर देउवाले उम्मेदवार चयन गर्दा र टिकट वितरण गर्दा गल्ती भएको स्विकारेका छन् । उनले निर्वाचनका क्रममा नजित्ने उम्मेदवारहरू जित्छु भन्दै दाबी गर्दै आएका कारण तिनलाई विश्वास गर्दा र दबाब झेल्न नसक्दा कांग्रेस पराजित भएको बताए ।

‘टिकट वितरण गर्दा र उम्मेदवार चयन गर्दा गल्ती भयो, जित्ने उम्मेदवारले हारे । धेरै स्थानबाट हामी जित्छौं भन्दै टिकट माग्न नेताहरू आए, उनीहरूको दाबीलाई पत्याउँदा धेरै स्थानमा हार्न पुगियो । दबाब झेल्न नसक्दा हारियो,’ देउवाले भने । उनले निर्वाचनका क्रममा धेरै स्थानमा उम्मेदवारहरूमाथि अन्तर्घातसमेत भएको बताए । यसैगरी, उनले प्रहरी महानिरीक्षक र प्रधानन्यायाधीश काण्डमा आफ्नो नेतृत्वको सरकारले गल्ती नगरेको प्रस्टीकरण दिए ।

‘सिलवाललाई आईजी नबनाएर कसरी गल्ती भयो ? आज ऊ कहाँ छ, कुन दलको मान्छे रैछ, दुईवटा कार्यसम्पादन बुझाएको पाएपछि उसलाई आईजी नबनाएको हो । जाली काम गर्नेलाई नै आईजी बनाउनुपर्ने हो र ?,’ देउवाले प्रतिप्रश्न गरे । भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आन्तरिक एकताका लागि आफूले सभापति देउवालाई सहयोग गर्ने समेत उद्घोष गरे ।

‘विगतमा जे भयो भयो, मेरो कुनै गुट छैन, सबै साथीहरूको राय एकताका पक्षमा आएको छ । सल्लाह गरेर सबै कुरा सहमतिबाटै गरेर अघि बढौं, जे जति असहमति छ, धोएर फालौं । त्यसका लागि कोर मिटिङ बसौं । म सभापतिजीलाई साथ दिन्छु,’ पौडेलले भने । भेलाले प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेशसभा र स्थानीय तहमा सरकारको सर्वसत्तावादी र जनविरोधी प्रवृत्तिविरुद्ध कांग्रेसलाई सशक्त बनाउन निर्णय गरेको छ । आजको राजधानी दैनिकले यो समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५