AArya
RUMPUM
animated ellipse animated ellipse

एसी कक्षमा हाकिम, घण्टौँ लाइनमा सेवाग्राही , फोहोर फाल्ने कक्षमा परिणत स्तनपान कक्ष

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ भाद्र २०८३, बुधबार १८:१८
72
Shares
अनुज सापकोटा
विराटनगर/जिल्ला प्रशासन कार्यालय मोरङमा पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै गए पनि सेवा प्रवाहलाई सहज, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन आवश्यक प्रणालीको अभाव देखिएको छ ।

नागरिकता र राष्ट्रिय परिचयपत्र फाँटमा निश्चित कोटा प्रणाली लागू गरिए पनि प्रशासनबाट प्रवाह हुने समग्र सेवामा टोकन प्रणाली नहुँदा सेवाग्राहीले घण्टौँ लाइनमा घाममा उभिएर सेवा लिनुपर्ने बाध्यता छ । फाँट–फाँटमा भीड हुँदा एकअर्काको ढाडमा टेकेर सेवा लिनु पर्ने अवस्था छ ।

सेवाग्राहीको चाप हुने सरकारी कार्यालयमा टोकन प्रणालीमार्फत भीड व्यवस्थापन गर्ने अभ्यास बढिरहेका बेला मोरङ प्रशासन भने अझै परम्परागत शैलीमै सीमित देखिएको हो । प्रशासनमा नेपाल विद्युत प्राधिकरण, विभिन्न बैंक जस्तो टोकन प्रणाली छैन । युवा, ज्येष्ठ नागरिक, गर्भवती महिला, बिरामी तथा अपाङ्गता भएका व्यक्तिसमेत एउटै लाइनमा लामो समय उभिनुपर्ने अवस्थाले प्रशासनको सेवा प्रणालीमाथि प्रश्न उठाएको छ ।

विशेषगरी ज्येष्ठ नागरिक र अशक्त सेवाग्राहीका लागि सहज पहुँच र प्राथमिक सेवाको व्यवस्था प्रभावकारी हुन सकेको छैन। प्रशासनका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, अधिकृतहरू सुविधा सम्पन्न एसी कक्षमा बसेर सेवा प्रवाहको नेतृत्व गरिरहँदा सेवाग्राही भने कार्यालय परिसरमै घण्टौँ घामपानी नभनी पालो कुरेर बस्नुपर्ने अवस्था छ । कार्यालयको माथिल्लो तल्लामा रहेका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीका कक्षसम्म पुग्न अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई थप कठिनाइ हुने गरेको सेवाग्राहीको गुनासो छ ।

केही समयअघि न्यू सृष्टि दैनिकसँगको कुराकानीमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले सर्वसाधारणलाई उत्कृष्ट र भरपर्दो सेवा प्रवाह गर्न प्रशासन दृढ रहेको बताएका थिए । उनले बिरामी तथा अपाङ्गता भएका सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउँदै आएको दाबीसमेत गरेका थिए । अपाङ्गता भएका तथा बिरामी व्यक्तिलाई सिँढी चढ्न नपरोस् भनेर ‘¥याम्प’ ९खण्ड नभएको सपाट सिढी० निर्माण गर्ने आश्वासनसमेत उनले दिएका थिए । तर कटेल सरुवा हुने तयारीमा रहँदा उक्त प्रतिबद्धता कार्यान्वयनको अवस्थामा पुगेको छैन ।

त्यसैगरी नवजात शिशु लिएर प्रशासन आउने महिलाका लागि बनाइएको स्तनपान कक्षसमेत अहिले प्रयोजनविहीन छ । स्तनपान गराउने संवेदनशील कक्ष हाल फोहोर फाल्ने थलोमा परिणत हुँदा प्रशासनको सेवाग्राहीमैत्री दाबीमाथि नै प्रश्न उठेको छ । विराटनगर–१० का अविनारायण यादवले प्रशासनमा सर्वसाधारणका लागि आधारभूत सुविधाकै कमी रहेको बताए । सेवाग्राहीको चाप बढिरहेका बेला बस्ने स्थानको व्यवस्था गर्दै सम्पूर्ण सेवाका लागि टोकन प्रणाली लागू गर्नुपर्ने उनको भनाइ छ ।

विराटनगर–१६ की रुबिना खातुनले कर्मचारीमा मुस्कानसहितको सेवा गर्ने संस्कारको समेत अभाव रहेको गुनासो गरिन् । उनले अधिकांश कर्मचारीमा आफू प्रशासनको कर्मचारी भएको दम्भ भएकोले दोहोराएर केहि सोधी हाले झर्को फर्को गर्ने गरेको आरोप लगाइन् । संघीय सरकारअन्तर्गतको महत्वपूर्ण प्रशासनिक निकायमा सेवाग्राहीले सामान्य सुविधा र सम्मानका लागि समेत संघर्ष गर्नुपर्ने अवस्थाले ‘परिवर्तन’ र ‘सुशासन’का नारालाई नै चुनौती दिएको छ । प्रशासनको प्राथमिकता सुविधा सम्पन्न कक्ष होइन, सेवा लिन आउने नागरिकको सहजता र सम्मानमा बन्नुपर्ने आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर