पूर्वाञ्चल खबर
समूह ‘एच’ को खेलमा जापानले कोलम्बियालाई २–१ को गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै २०१४ मा ब्राजीलमा भएको विश्वकपमा जापानले कोलम्बियासँगे ४–१ गोल अन्तरले पराजित भएको बदला समेत लिएको छ । जापानले कोलम्बियालाई पहिलो पटक पराजित गर्दै अर्को इतिहास बनायो ।
खेलको सुरुवातमै कोलम्बिया १० खेलाडीमा सीमित बनेको थियो। डिबक्स भित्र ह्यान्ड गरेपछि कोलम्बियाका सान्चेजले सिधा रातो कार्ड पाएका थिए । त्यसको फाइदा उठाउदै जापानले खेलको छैठौं मिनेटमा स्निजी कागावाले पेनाल्टीमा गोल गरेर अग्रता दिलाएका थिए । १० खेलाडीमा सीमित भएको कोलम्बियाका लागि खेलको ३१ औं मिनेटमा जुआन फर्नान्डो क्विन्टेरोले गोल गरी खेलमा फर्काएका थिए ।
जापानका लागि युया ओसाकाले खेलको ७३ औं मिनेटमा विजयी गोल गरे ।कोलम्बियाका कार्लोस खेलको तेस्रो मिनेटमै रातो कार्ड पाएर बाहिरिएका थिए । यो विश्वकपमा रातो कार्ड पाउने कोलम्बियाका कार्लोस पहिलो खेलाडी समेत बनेका छन् । पहिलो हाफको तुलनामा दोस्रो हाफमा जापानले बलमा धेरै नियन्त्रण बनाएको थियो । खेलमा ६२ प्रतिशत समय बल जापानको नियन्त्रणमा थियो ।