शिक्षक टिकाउन विद्यालयले गर्‍यो आलुखेती

खबर पूर्वाञ्चल, २९ जेष्ठ २०७५, मंगलवार ०७:२२

जुम्ला / निजी स्रोतमा राखिएका शिक्षकलाई तलबभत्ता खुवाउन जिल्लाको एक सामुदायिक विद्यालयले तरकारीखेती गर्दै आएको छ।

पातारासी गाउँपालिका–७ पटमारास्थित महारुद्र आधारभूत विद्यालयमा दरबन्दीभन्दा निजी स्रोतका शिक्षक दोब्बर भएपछि तलबभत्ताको जोहो गर्न विद्यालयले आलुखेती गरेको हो। पाँच रोपनीमा आलुखेती गरिएपछि निजी स्रोतमा राखिएका शिक्षक टिकाउन सहज भएको प्रधानाध्यापक चूडाराज न्यौपानेले बताए।

उनका अनुसार विद्यालयमा शिक्षक दरबन्दी कम हुँदा निजी स्रोतबाट राख्नुपरेको छ। सरकारले दरबन्दीका शिक्षकलाई मात्र तलबभत्ता उपलब्ध गराउँछ। निजी स्रोतका शिक्षकलाई तलब दिन विद्यालयको अन्य आम्दानीले नपुगेपछि तरकारीखेती गरेर रकम जुटाउनुपरेको उनले बताए। प्रधानाध्यापक न्यौपानेले भने, ‘यो क्षेत्रमा आलु उत्पादन राम्रो हुन्छ। आलु बेचेर आएको पैसाले निजी स्रोतमा राखिएका शिक्षकलाई तलब दिन्छौं।’

आलुखेतीबाट बर्सेनि कम्तीमा दुई लाख रुपैयाँ आम्दानी भइरहेको न्यौपानेले बताए। ‘सडकको पहुँच भएकाले बिक्रीवितरणका लागि बजार पु-याउन सहज छ’, उनले भने, ‘शुक्रबार हुने अतिरिक्त क्रियाकलापमा शिक्षक–विद्यार्थी आलु गोडमेल र संरक्षणमा जुट्छौं। यसले विद्यार्थीलाई व्यावहारिक ज्ञानसँगै विद्यालयको आम्दानीमा सहयोग पुगेको छ।’

यहाँ उत्पादित आलु सदरमुकाममा प्रतिकेजी ३० रुपैयाँमा बिक्री हुन्छ । व्यापारीले गाउँमै पुगेर आलु खरिद गर्छन् । विद्यालयले गरेको आलुखेतीको सिको गाउँका स्थानीयले पनि गरेका छन्। उनका अनुसार आलुको परिकार बनाउने तालिम विद्यार्थीलाई दिएर दिवा खाजाको व्यवस्था गर्ने योजना विद्यालयको छ। ‘आलुखेती निजी स्रोतका शिक्षकलाई तलब दिन राम्रो विकल्प बनेको छ,’ न्यौपानेले भने। विद्यालयले आम्दानीका लागि आलुखेती गर्दै गए जग्गा उपलब्ध गराउन सकिने अभिभावक बताउँछन्।

सरकारी दरबन्दी नभएका सामुदायिक विद्यालयले निजी स्रोतका शिक्षकलाई तलब खुवाउन स्थानीय तहले विकास बजेटबाट समेत रकम छुट्याइएका छन्। ‘एक गाउँ एक विद्यालय’ अवधारणा आएसँगै हरेक गाउँमा सामुदायिक विद्यालय खोलिएका छन्। तर नयाँ खोलिएका विद्यालयलाई सरकारले विद्यार्थीअनुसार शिक्षक दरबन्दी उपलब्ध नगराउँदा स्थानीयले नै निजी स्रोतमा शिक्षक राख्नुपर्ने बाध्यता आएको हो। तिला गाउँपालिका–९, तल्लो खोप्रीस्थित विद्यालयलाई सरकारले पर्याप्त शिक्षक दरबन्दी नदिँदा दुई दशकदेखि निजी स्रोतमा शिक्षक राख्नुपरेको छ। कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा दुई राहत दरबन्दीका र दुई निजी स्रोतका शिक्षक छन्। यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५