सप्तरीमा भारतीयद्वारा नेपालकाे सार्वजनिक जग्गा कब्जा

खबर पूर्वाञ्चल, ३ जेष्ठ २०७५, बिहीबार ०८:४५

सप्तरी / भारतीय नागरिकले नेपाली भूमि कब्जा गरी घरटहरा बनाउन थालेका छन्। उनीहरूले आफूखुसी सार्वजनिक जग्गा घेरा हाली खेती गरिरहेका छन्। सप्तरीका गोबरगाढा र लालापटीमा भारतीय नागरिकले नेपाली भूमि कब्जा गरेका हुन् । यसबारे जिल्ला प्रशासन भने बेखबरझैं छ।

हनुमाननगर कंकालिनी नगरपालिकाअन्तर्गत कोसीको बीचमा रहेको गोबरगाढा टापुमा भारतीयले थुप्रै घरटहरा बनाएका छन्।

केही वर्षयता बाढीको त्रासले स्थानीय विस्थापित भएको मौका छोपी भारतीय नागरिक नेपाली भूमिमा आएका हुन् ।
गोबरगाढा बस्तीदेखि उत्तर र कोसी ब्यारेजको पश्चिमदेखि दक्षिणतर्फको टापु अतिक्रमणमा परेको छ । गोबरगाढामा मात्र भारतीय नागरिकले ५० बिघाभन्दा बढी जग्गामा खेती गरिरहेको नगरपालिकाका मेयर शैलेशकुमार साहले जानकारी दिए । भारतीयले कति नेपाली भूमिमा खेती गरिरहेका छन् भन्ने यकिन गर्न लागिएको पनि उनले बताए।

गोबरगाढामा सीमानजिकैका र केही भित्री बस्तीका भारतीय पनि आएर घर बनाइरहेका छन् । केही दिनअघि कोसी ब्यारेजको पश्चिमी क्षेत्रभन्दा ४ किमि दक्षिणतर्फ सुरतलाल मुखिया गहुँ भित्र्याइरहेका थिए । उनी भारत, बिहारको सुपौल जिल्लाअन्तर्गत कोरियापट्टीका स्थायी बासिन्दा हुन् । १० बिघा जग्गामा गहुँ खेती गरिरहेको उनले सुनाए । मुखियाले उक्त जग्गामा चारैतिर तारबारले घेरा हालेका छन्।

भैंसीले बालीनाली नष्ट गर्ने भएकाले तारबार लगाएको उनले बताए । खेतनजिकै मुखियाले घरसमेत बनाइसकेका छन् । ‘बर्खामा आफ्नै घर भारततर्फ बस्न जान्छौं,’ उनले भने, ‘बर्खा सकिएपछि यतै बस्छौं, खेती गर्छौं ।’ टापुमा गरिएको खेतीबाट राम्रो आम्दानी भइरहेको मुखियाले बताए।

मुखियाका अनुसार नेपाली भूमिमा बस्नुअघि उनले कसैसँग अनुमति लिएका छैनन् । ‘कसलाई सोधेर बस्नु रु,’ उनले भने, ‘जग्गा खाली भएकाले खेती गरेको हुँ, कसैलाई समस्या पारेको छैन।’

मुखियाकै गाउँका अन्य ५ परिवार पनि उनीसँगै बसाइँ सरेर टापु आएका छन्। त्यहाँका जग्गा कब्जा गरी थातथलो जोडेका छन् । उनीहरूको खास घर भने नेपाल–भारत सीमास्तम्भबाट ५ किमि दक्षिणमा पर्छ।

मुखियाले कब्जा गरेको स्थानभन्दा केही मिटर उत्तरतर्फ पनि १० परिवारको बस्ती छ । उनीहरू सबै बिहारको समदा कटैयाका बासिन्दा हुन् । ‘हाम्रो आफ्नो ठाउँमा पनि घर छ । यहाँ जग्गा खाली भएकाले खेती किसानी गर्न घर बनाएका हौं,’ एक मुस्लिम महिलाले भनिन् । उनले नाम भने बताउन चाहिनन्।

ती महिलाले आफूहरू बर्खा लागेपछि भारत जाने र अन्य बेला टापुमै बस्ने गरेको बताइन् । टापु नेपालमा पर्ने भए पनि कहींकतैबाट कुनै अवरोध नरहेकाले बस्न आएको उनले जनाइन् ।

‘हाम्रै गाउँबाट थप परिवार टापुमा आउने तयारी गरिरहेका छन्,’ उनले भनिन् । गोबरगाढावासीका अनुसार बर्खाबाहेकको समयमा सीमावर्ती बिहारका रतनपुरा, छतौनी, कोरियापट्टी, समदा कटैया, रानीगन्ज, भटनिया, बाइसीसम्मका व्यक्ति टापुमा आई नेपाली भूमिमा खेती गर्ने गरेका छन्।

भारतीयले टापुमा सयौंको संख्यामा भैंसीपालनसमेत गरेका छन् । ठूलो भूभाग चरन क्षेत्र रहेको गोबरगाढा टापु भैंसीपालनका लागि प्रसिद्ध छ । यहाँ दुवैतर्फका नागरिकका गरी १० हजारभन्दा बढी भैंसी छन्।

गोबरगाढा र आसपासको जग्गा पहिला नेपाली नागरिकको नम्बरी थियो । तर, कोसीले कटान गर्दै जाँदा बसोबास गरिरहेका अन्यत्रै गएको तथा ०२४ सालको नापीका बेला जग्गाधनीले नापी गराउन नसक्दा सरकारको अधीनमा आएको थियो । त्यही भूमि अहिले भारतीयले कब्जा गर्दै घर बनाउन थालेका हुन्।

छिन्नमस्ता गाउँपालिकास्थित लालापट्टी क्षेत्रमा पनि यस्तै अवस्था छ । साबिक लालापट्टी गाविसदेखि गोविन्दपुरसम्म लगभग सात किमि दशगजामा भारतीयले लामो समयदेखि खेती गरिरहेको संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवले बताए ।

‘हाम्रो गाउँमा त दशगजा नै छैन,’ उनले भने, ‘सबै भारतीयले कब्जा गरेर खेत बनाएका छन् ।’ लालापट्टीमा करिब पाँच दशकदेखि भारतीयले नेपाली भूमि उपभोग गर्दै आए पनि कसैले रोक्ने पहल गरेको छैन। भारतीयले ग्रामीण सडक बनाउन दशगजाकै माटो काटेर लैजाँदा त्यहाँ नदीजस्तै बनेको छ।

सप्तरीका प्रजिअ भागीरथ पाण्डेले भारतीयहरूले नेपाली भूमि कब्जा गरी खेती गरिरहेकोबारे कुनै जानकारी नरहेको बताए। ‘कतैबाट यस्तो सूचना आएको छैन,’ उनले भने।

पिल्लर पनि अतिक्रमणमा
भारतीय नागरिक र सुरक्षाकर्मीले कैयौं सीमास्तम्भसमेत अतिक्रमण गरेका छन् । जिल्ला प्रशासनका अनुसार सप्तरीमा भारतीय सीमामा राखिएका ६ सय ५० वटा पिल्लरमध्ये अहिले २ सय २५ वटा मात्र कायम छन्।

२१ वटा पिल्लर खोलाले बगाएको र बाँकी सबै गायब पारिएकाले यसबारे भारतीय पक्षसित कुराकानी गर्न जिल्ला प्रशासनले गृह मन्त्रालयमा लेखी पठाएको छ।

यही महिना हुने नेपाल–भारत गृहसचिवस्तरीय वार्तामा सीमास्तम्भबारे कुरा उठाउन गृहलाई लिखित रूपमा आग्रह गरिएको प्रशासनले जनाएको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५