RUMPUM
animated ellipse animated ellipse

सुन तस्करी र हत्या प्रकरण: ‘कहाँ छ ३३ किलो सुन ?’ सुन र गोरे खोज्दै प्रहरी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ जेष्ठ २०७५, मंगलवार ०८:३०
3
Shares
विराटनगर /३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा प्रतिवादीतर्फबाट बहस गर्ने कानुन व्यवसायीले अदालतसमक्ष जिज्ञासा राखेका छन्– तस्करी भएको भनिएको सुन खोइ ?

अभियुक्तका तर्फबाट सोमबार बहस गर्दै वरिष्ठ अधिवक्ताहरू माधवराज आचार्य, राजेन्द्र भट्टराई, सुरेशलाल श्रेष्ठसहित १० जनाले अदालतसमक्ष यस्तो जिज्ञासा राखेका हुन् । उनीहरूले अघिल्ला कानुन व्यवसायीले इजलाससमक्ष राखेकै तर्क दोहोर्‍याएका थिए । सुन नै नभेटिएकाले यही आधारमा अभियोग लगाउन नहुने उनीहरूले तर्क गरे । यो मुद्दामा संगठित अपराध ऐन आकर्षित नहुने भन्दै उनीहरूले अभियुक्तलाई साधारण तारेखमा छाड्न माग गरेका छन् ।

इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष बहस गरेका प्रतिवादीका कानुन व्यवसायीले अभियुक्तबाट बरामद गरिएका रजिस्टरलगायत कागजात प्रमाणित हुने आधार नभएको तर्क गरे । यसअघि आइतबार बहस गर्ने वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, यदुनाथ खनाल र राजु बस्नेतले पनि यस्तै तर्क राखेका थिए । प्रतिवादीतर्फको बहस शुक्रबारसम्म चल्ने अदालत स्रोतले जनाएको छ । आइतबार इजलासबाट ‘थुनछेक आदेश’ आउनसक्ने सम्भावना रहेको स्रोतले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका ३० जना प्रतिवादीका तर्फबाट ८० जनाभन्दा बढीले बहस गर्नका लागि वकालतनामा दर्ता गराएका छन् ।

निलम्बित डीएसपी प्रजित केसीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठ, आचार्य र भट्टराईले प्रहरीको माथिल्लो निकायको मौखिक र लिखित आदेश पालना गर्दै काठमाडौंबाट सुनसरी आएर मोहन काफ्ले र नरेन्द्र कार्कीलाई पक्राउ गर्न सफल भएको बताएका थिए । ‘अभियुक्तहरूलाई मुद्दा मिलाइदिने भन्दै प्रलोभन देखाएर नाटकीय रूपमा पक्राउ गरी अनुसन्धानमा सघाएका उनीहरू कसरी दोषी हुन सक्छन्’, उनीहरूले इजलासमा भने ।

दुई नयाँ अभियुक्तलाई म्याद थप
यसैबीच काठमाडौंमा पक्राउ गरी मोरङ पठाइएका दुई अभियुक्तलाई पाँच दिनको म्याद थप गरी प्रहरी नियन्त्रणमा राखिएको छ । संगठित सुन तस्करीबारे अनुसन्धान गर्न बनेको विशेष समितिको निर्देशनमा प्रहरीले दोलखा घर भएका मुक्तिराम श्रेष्ठ र झापाको दमकस्थित सिद्धिकाली मनी ट्रान्सफरका सञ्चालक विनोद अधिकारीलाई पक्राउ गरेको थियो । उनीहरूलाई ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको मोरङ जिल्ला न्यायाधिवक्ताको कार्यालयले जनाएको छ । सुन तस्करी र हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) सँग आर्थिक कारोबार देखिएको भनिएका उनीहरू दुवै हुन्डी कारोबारी भएको जनाइएको छ ।

सुन र गोरे खोज्दै प्रहरी
यो प्रकरण अनुसन्धान गर्न प्रधानमन्त्री कार्यालयको निर्देशनमा गठित गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वको विशेष समितिले तस्करी भएको भनिएको सुन र फरार मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहितको खोजी तीव्र बनाएको छ । ‘हाम्रो मिसन नै गोरे र सुन फेला पार्नु हो’, समितिमा आबद्ध एक उच्च प्रहरी अधिकृतले भने, ‘समितिको म्याद जेठ ५ सम्म छ, त्यस अवधिमा धेरै कुरा पत्ता लगाउने प्रयास गरिरहेका छौं ।’ सूक्ष्म रूपले निचोडमा पुग्न समय लाग्ने भएकाले अनुसन्धानका लागि म्याद थप हुने सम्भावना रहेको बताए । सबै संयन्त्र परिचालन गरी सुन र फरार अभियुक्तहरूको खोजी भइरहेको भन्दै ती सदस्यले चाँडै निचोडमा पुग्ने दाबी गरे । अभियुक्तहरू भारत प्रवेश गरेको सूचनाका आधारमा प्रहरीले भारतीय पक्षसँग समन्वय गरी अनुसन्धान गरिरहेको समितिका सदस्यले बताएका छन् ।

सजाय छुटको सिफारिस रद्द
यो मुद्दाका ६३ प्रतिवादीमध्ये अनुसन्धानमा सघाएको भन्दै सम्बिर तिलांगे र विष्णुबहादुर खड्काले पाउने सजायमा ५० प्रतिशत छुट दिने भनिएकामा अब नपाउने भएका छन् । प्रहरी अनुसन्धान क्रममा दिएको बयानअनुसारै अदालतसमक्ष बयान दिने र अनुसन्धानमा सघाउने भनेपछि उनीहरूले पाउने सजायमा छुट गरिपाउन जिल्ला अदालतमा न्यायाधिवक्ताको कार्यालयले सिफारिस गरेको थियो । तर अभियुक्तहरूले अदालतमा बयान फेरेपछि उनीहरूलाई गरिएको सजाय छुटको सिफारिस रद्द गरिएको हो । मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार बयान फेरेपछि सजाय छुटको सिफारिस रद्द गर्दै कानुनअनुसार पूरै सजाय गरिपाउन भन्दै ‘पुन: अभियोजन’ को निवेदन अदालतसमक्ष दिइएको छ ।

तिलांगेलाई कर्तव्य ज्यान महलको १३ (४) अनुसार ज्यान मार्न उक्साएको आरोपसँगै ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी–पैठारी र चोरी–निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ तथा खड्कालाई संगठित आपराधिक समूहको सदस्य भई सुन ओसारपसारमा संलग्न भएको आरोप छ । आजको कान्तिपुर दैनिकले यो समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर