पूर्वाञ्चल खबर
अभियुक्तको बयान सकिएसँगै अब बिहीबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । ‘चार दिन लगाएर अभियुक्तको बयान सकिएको छ,’ उनले भने, ‘बुधबार कानुन दिवसको विदा भएकोले बिहीबारदेखि थुनछेक बहस सुरु हुनेछ ।’
आज तीन जना अभियुक्तको बयान लिएसँगै पक्राउ परेका सबै अभियुक्तको बयान सकिएको हो । अन्तिम दिन बहालवाला एससपी दिवेस लोहनी, डियसपीद्धोय प्रजित केसी र सञ्जय राउतको बयान सकिएको श्रेस्तेदार दुलालले जानकारी दिए ।
यसअघि सोमबार पूर्व डिआइजी गोविन्द निरौला, निलम्बित प्रहरी उपरीक्षक विकासराज खनाल, सइ बालकृष्ण सञ्जेल, हवल्दार अमरबहादुर थापा र जवान विष्णुबहादुर खड्काको बयान लिइएको थियो । यसैगरी विमानस्थलका कर्मचारीहरु राजन थापा, पुण्य लामा, गोपाल श्रेष्ठ, हेमन्त गौचन, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारूको पनि बयान सकिएको छ ।
यसअघि राजन कुमार, टेकराज मल्ल ठकुरी, माधव भन्ने मदनप्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा र कृष्ण भन्ने नरेन्द्र कार्कीका छन् । त्यसैगरी व्यापारी भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य र महावीर गोल्यान, विमानस्थलका कर्मचारीहरु लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी र बालकृष्ण श्रेष्ठको बयान लिइएको थियो ।
मोरङ अदालतको ६ नम्बर इजालमा न्यायदिश नारायणप्रसाद शर्माले पक्राउ परी न्यायिक हिरासतमा रहेका ३० जना अभियुक्तको बयान लिएका थिए । अभियुक्तले अदालतमा बयान दिने क्रममा प्रहरी र विमानस्थलका कर्मचारीले बयान परिवर्तन गरेको बताइएका छन् । बयान दिने विमानस्थलका कर्मचारीहरुले सुन आएकोबारे आफूहरुलाई केही थाहा नभएको बताएका छन् । आफूहरुले कार्यालयको कर्मचारीका हैसियतमा पूरा गर्नुपर्ने जिम्मेवारी मात्र निर्वाह गरेको उनीहरुको भनाइ थियो । प्रहरीले अभियोगपत्रसाथ प्रस्तुत गरेको बयानलाई उनीहरुले अदालतसमक्ष इन्कार गरेका छन् ।
साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले ६३ जनाविरुद्ध गएको बुधबार मुद्दा दायर गरेको थियो ।