पूर्वाञ्चल खबर
आज विराटनगरमा भएको नीजि प्राविधिक शिक्षालय महासंघ नेपाल १ नम्बर प्रदेश समितिले गरेको प्रिन्सिपल कन्फ्रेन्स तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले यस्तो बाताएका हुन् ।
मन्त्री घिमिरेले राज्यले मात्रै दक्ष जनशक्ति उत्पादन गर्न नसक्ने भएको भन्दै नीजि प्राविधिक शिक्षालयको भूमिका बढेको बताए । उनले देशमा रोजगारी सिर्जना गर्नु चुनौतिपूर्ण भएको बताउँदै विदेशीने अवस्था अन्त्य गर्नु आवश्यक भएकोमा जोड दिए ।
सोही कार्यक्रममा बोल्दै सिटीइभीटीका सदस्य सचिव पुष्पराम वाग्लेले नेपालको शिक्षामा सुकिला मुकिला जनशक्ति उत्पादन गर्ने तर श्रम गर्ने सीप भएका जनशक्ति उत्पादनतिर ध्यान नगएको बताए । उनले देशको उन्नती र समृद्धि ल्याउनका लागि श्रम शोषणको अन्त्य हुनुपर्ने र प्राविधिक जनशक्तिको उत्पादनमा जोड दिनुपर्ने बताए ।
नीजि प्राविधिक शिक्षालय महासंघ सिटीइभीटीबाट स्वीकृति प्राप्त नीजि कलेजहरुको संस्था हो । कार्यक्रममा १ नम्बर प्रदेशका ३६ वटा प्राविधिक शिक्षालयका प्रमुखको उपस्थिति थियो । १ नम्बर प्रदेशका ३६ वटा प्राविधिक विद्यालयहरुले १ सय १६ वटा विभिन्न कार्यक्रम संचालन गरिरहेका छन् भने ३१ हजार ८ सय दक्ष जनशक्ति उत्पादन गरिसकेको जनाएको छ । उत्पादित जनशक्तिमध्ये ७३ प्रतिशत स्वदेशमै विभिन्न रोजगारमा संलग्न रहेको बताइएको छ । नेपालमा ४ सय ११ वटा प्राविधिक विद्यालयहरुले सिटीइभीटीबाट सम्बन्धन लिएर संचालन भइरहेका छन् ।
नीजि प्राविधिक शिक्षालय महासंघ नेपाल १ नम्बर प्रदेश समितिका संयोजक भगवान झाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा सिटीइभीटीका सदस्य सचिव पुष्पराज वाग्ले, फोरमर हेल्थका सस्थापक अध्यक्ष राजन खत्री र नीजि प्राविधिक शिक्षालय महासंघ नेपाल केन्द्रीय सदस्य शैलेन्द्र मोहन झालगायतले बोलेका थिए ।