खबर पूर्वाञ्चल
प्रतियोगिता हेर्न नपाएपछि परिवार सहित उनी निराश बनेर फर्किएको आयोजक समितिका सल्लाहकार प्रकाश मुन्दडाले जानकारी बताए । टिकट काटिसकेपछि सहिद रंगशाला भित्रको प्यारापिट दर्शकले भरिएको र ठाउँ खाली नभएको जानकारी गराउँदै गेटपालेहरुले भित्र छिर्न नदिएपछि गोल्डकप हेर्ने पौडेल परिवारको इच्छा पूरा हुन सकेन् ।
विराट गोल्डकपको अन्तिम प्रतिष्पर्धा हेर्न रहर गरेर पुग्ने तर नपाउनेमा उनी जस्ता धेरै थिए । सोमबार मध्यान्हदेखि सहिद रंगशाला वरपर टिकट काट्ने र रंगशाला भित्र छिर्ने दर्शकको भीड नै लागेको थियो । प्यारापिट खचाखच बने पनि धेरै दर्शक रंगशाला बाहिरै रहनु परेपछि गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजालले पटकपटक दर्शकलाई माईकबाटै सम्बोधन गरेका थिए । ठाउँ अभावका कारण दर्शकको उत्साह र हौसलालाई सम्बोधन गर्न नसकिएको भन्दै उनले माईकबाटै टेलिभिजन ,स्थानीय अनलाइन तथा सामाजिक सञ्जालमा पनि प्रत्यक्ष प्रशारण गरिएका कारण घरबाटै फुटबलको मज्जा लिन आग्रह गर्नु परेको थियो । प्यारापिटमा दर्शक नअटेपछि टेलिभिजन र सामाजिक सञ्जालमा प्रतियोगिताको प्रत्यक्ष प्रशारणमा रोक लगाएको आयोजकमा प्रत्यक्ष प्रशारण गर्नै पर्ने बाध्यात्मक अवस्थाको सिर्जना भएको थियो ।
२०१८ सालबाट महेन्द्र गोल्डकपका नाममा विराटनगरमा ठूला फुटबल प्रतियोगिता सुरु भएको थियो । परिवर्तित राजनीतिक एवं सामाजिक घटनाक्रम र सन्दर्भसंगै २०६७ सालदेखि नाम परिवर्तन गरेर विराट गोल्डकपको स्वरुपमा ल्याइयो । २०६८, ०६९, ०७१, ०७२ र ०७४ मा विराट गोल्डकपको आयोजना गरियो ।
बरिष्ठ फुटबल प्रशिक्षक एवं विराट गोल्डकप ट्रष्टका अध्यक्ष शिवभक्त जोशीले भने, ‘विराटनगर फुटबललाई धेरै मन पराउने शहर हो । यहाँ फुटबल प्रति धेरै दर्शकको अपार माया र सद्भाव रहने गरेको छ ।’ विभिन्न प्राविधिक कारण देखाउँदै एक वर्ष आयोजना हुने र अर्को वर्ष आयोजना नहुने फुटबल परिपाटीले केही समय दर्शकको साथ समेत नपाएको विगत रहेको जोशीको भनाइ छ । ‘निरन्तरता पाइरहँदा दर्शकले पनि राम्ररी साथ दिन्छन्,’ उनले भने, ‘निरन्तरता पाउन नसक्दा दर्शकले पनि वास्ता गर्दैनन् ।’
एक समय फुटबलले दर्शकनै नपाउने हो की जस्तो बनेको भन्दै जोशीले तर अझै पनि विराटनगरमा दर्शकको क्रेज घटेको रहेनछ भन्ने कुराको पुष्टि सोमबार सम्पन्न विराट गोल्डकपले गरिदिएको बताए । जोशीले गोल्डकप रोमाञ्चक र सफल बन्ने कुरा दर्शकमै निर्भर रहने गरेको अनुभव पनि सुनाए । उनले पछिल्लो गोल्डकपले ओरालो लाग्दै गएको फुटबल खेलमा नयाँ आशा जगाउने काम पनि गरेको बताए ।
गोल्डकप आयोजक समितिका उपाध्यक्ष एवं अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्व केन्द्रीय उपाध्यक्ष सन्तोश वानिया पछिल्लो समयको व्यवस्थित र उत्साहजनक आयोजनाले पनि खस्कँदै गएको फुटबल प्रति अहिले आएर दर्शकको क्रेज बढेर गएको बताउँछन् । उनका अनुसार गोल्डकपले निरन्तरता पाउन नसक्नु, समय समयमा गोल्डकप सुस्ताउनु, नेपाली फुटबल क्षेत्रले विभिन्न आरोहअवरोह झेल्नु, दर्शकको मन जित्न नसक्नुले पनि पछिल्लो समय क्रेज घट्दो थियो । उनले भने, ‘सोमबारको अवस्थालाई हेर्दा अवका दिनमा सहिद रंगशालाको प्यारापिट सानो भयो ।’
मोफसलमै पहिलो पटक आयोजना गरिएको विराट गोल्डकप रात्रिकालीन समयमा भएको प्रतियोगिता २०७४ मा उपस्थित दर्शकलाई रंगशालाको प्यारापिटले थेग्न सकेन । विगतमा जस्तो दर्शकको खडेरी यस पटक गोल्डकप आयोजकले भोग्न परेन । फ्रडलाइट जडान गर्दै रात्रिकालीन समयमा प्रतियोगिताको आयोजना गरिएपछि दर्शकले आयोजना स्थल सहिद रंगशालाको प्यारापिट दैनिक रुपमा भरिभराउ हुँदा आयोजक हौसिएको छ ।
खेल हेर्नका लागि टिकट काटेका चार हजार बढी दर्शकले प्यारापिट प्रवेश गर्न नपाएको आयोजक समितिका सल्लाहकार प्रकाश मुन्दडाले बताए । मुन्दडाका अनुसार नौ हजार क्षमताको प्यारापिटमा सोमबार १२ हजार भन्दा बढी दर्शक प्रवेश गरेका थिए । बस्ने ठाउँ अभावमा खेल भरीले लगभग २० प्रतिशत भन्दा बढी दर्शकले उभिएर दुईटिमबीचको प्रतिष्पर्धा हेरेको आयोजकको भनाइ छ । अव विराटनगरमा १५ हजार बढी क्षमताको प्यारापिट निर्माणको आवश्यकता रहेको आयोजकले औंल्याएको छ ।
गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजाल मोफसलमै पहिलो पटक रात्रिकालीन समयमा फ्रडलाइट खेल खेलाउँदा दर्शकबाट साथ पाइएको बताउँछन् । ‘नयाँ ढंगबाट गोल्डकप आयोजना गर्दा दर्शकको उपस्थिती उल्लेख्य रहयो,’ उनले भने, ‘केही वर्षदेखि फुटबलले दर्शक नपाउने संस्कार तोडिएको छ ।’ उनका अनुसार चैत १७ गतेदेखि आयोजना गरिएको प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ खर्च गरेर ४५ हजार वाटको फ्रडलाइट जडान गरिएको थियो ।
आगामी वर्ष थप नयाँ योजनाका साथमा व्यवस्थित गोल्डकप आयोजना गरिने रिजालले बताए । उनले भने, ‘साँझको समयमा सबैलाई फुर्सद हुने भएकाले पनि प्रतियोगिता रोमाञ्चक रुपमा सम्पन्न भयो ।’ उनले चैतको गर्मी र हावाहुरीलाई छल्नका लागि रात्रिकालीनमा खेल खेलाइएको र त्यो सफल हुँदा आगामी दिनमा थप व्यवस्थित गर्ने जिम्मेवारी थपिदिएको बताए । ‘खेल हेर्न नपाएर पैसा तिरेर टिकट काटेका धेरै दर्शक फर्किएर घर जानु पर्ने अवस्थाको सिर्जना हुँदा हामीलाई दुःख लागेको छ,’ उनले भने, ‘दर्शकका लागि अहिलेको अवस्थाको प्यारापिट पर्याप्त नभएपछि आगामी दिनमा रंगशालाको स्तरउन्नती गर्नु पर्ने देखियो ।’ दर्शकले रात्रिकालीनमान खेल रुचाएको बताउँदै उनले स्थायी फ्रडलाइटको व्यवस्थाका लागि सहयोग गर्न सबै पक्षसंग आग्रह गरे ।
खेलको सुरुवातमा आयोजकले एक सय ५० देखि दुई सय रुपैयाँ दैनिक टिकटको व्यवस्था गरेको थियो । दर्शक उपस्थितीलाई मध्यनजर गर्दै फाइनल सम्म पुग्दा आयोजकले तीन सयदेखि चार सय रुपैयाँ सम्म पु¥याएको थियो । दक्षिण र पूर्वतर्फको प्यारापिटका लागि कम र उत्तर र पश्चिमतर्फको प्यारापिटका लागि टिकटको मूल्य बढी राखिएको थियो । स्पेशल दर्शकका लागि दक्षिणपश्चिमको प्यारापिटमा १० दरको टिकटको व्यवस्था थियो । दैनिक टिकटका अलवा एक हजार पाँच सय रुपैयाँ दरको सिजनल टिकट पनि थियो ।
‘प्रदेश १ कै चर्चित र ऐतिहासिक गोल्ड कप नयाँ सन्देश दिँदै विराटनगरमा सकिएको छ,’ पूर्व फुटबलर देवनारायण चौधरीले भने । उनका अनुसार कार्यक्रममा सहभागी उच्च अधिकारीदेखि दर्शकसम्मले यस पटकको गोल्डकपको खुलेर प्रसंसा गरे । उनले डे–नाइटको चर्चा विराटनगरमा मात्रै नभएर देशभर भएका कारण पनि विराट गोल्डकप सफल र उत्कृष्ट भएको मान्न सकिने बताए ।
विराटनगर महानगरपालिका मेयर भीम पराजुली, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, मुख्य मन्त्री शेरधन राई, यूवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले प्रतियोगिताको खुलेर प्रशंसा गरे । उनीहरुले फ्रडलाइटलाई स्थायी बनाउन सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । मुख्य मन्त्री राईले खेल क्षेत्रको विकासमा प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताए । खेलकुद मन्त्री सुनारले मोफसलमै पहिलो पटक आयोजित डे–नाइट प्रतियोगिताले नेपाली फुटबल क्षेत्र र मुलुकमै नयाँ सन्देश प्रवाह गरेको बताए ।