खबर पूर्वाञ्चल
थ्री–स्टारले सोमबार हुने फाइनल खेलमा विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लबसँग भिडन्त पक्का गरेको छ । थ्री–स्टारले विराटनगरको शहिद मैदानमा आज राती भएको अन्तिम सेमिफाइनल खेलमा संकटा क्लवको चुनौती ४–० गोल फराकिलो गोल अन्तरले पाखा लगाउँदै फाइनल खेलमा स्थान पक्का बनाएको हो । जीतसँगै थ्री–स्टारले माघमा हेटौडामा सम्पन्न भएको सुमन बम्जन गोल्ड कपको क्वाटरफाइनलमा १–० गोल अन्तरले पराजित भएको बदला समेत विराट गोल्ड कपमा आएर बदला लिएको छ ।
संकटालाई पराजित गरेस“गै जारी सिजनमा सहभागिता जनाएको १० प्रतियोगितामा थ्री स्टारले यो सँगै ८ ओटा मा फाइनल प्रवेश गरेको भने चारवटा प्रतियोगिताको उपाधि हात पारिसकेको छ ।
यस अघि भएको बुटलवलमा सम्पन्न मदन भण्डारी गोल्डकपको उपाधि जितेको थ्रीस्टारले जारी सजिनका तिलोतम गोल्डकप, इटहरीमा भएको मदन भण्डारी गोल्डकप र बुढासुब्बा गोल्डपको उपाधि जितेको थियो । थ्री स्टारको जितकालागि विमल अफ्रिन खेलाडि मार्टीनले २ गोल तथा घर्तीमगर र बुद्ध चेम्जोङले १–१ गोल गरेका थिए ।
खेलको ४० औं मिनेट सम्म थ्रीस्टारलाई होल्ड गर्दै खेललाई नियन्त्रणमा राखे पनि २०७० सालको विराट गोल्डकप विजेता संकटाले संकट टार्न सकेन । २०७० मा संकटाले सशस्त्र प्रहरी बलको एपिएफलाई १–० गोल अन्तरले पराजित गर्दा त्यतिबेला संकटाले उपाधि उचालेको थियो । खेलको ४३ औ मिनेटमा मार्टीनले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । मार्टिनले विमल घर्तीमगरको पासलाई सदुपयोग गर्दै बललाई जाली चुमाउँदा संकटाका गोलरक्षक सागर रायले नियाल्न पनि भ्याएनन् । त्यसपछि संकटाले लय गुमाएको फाइदा थ्रीस्टारले लिन सक्यो ।
थ्री स्टारकालागि ५५ औ मिनेटमा बुद्ध चेम्जोङले अर्को गोल गरेका थिए । निराजन खड्काको प्रहारलाई गोलरक्षक रायले ‘क्लियर’ गर्न नसकेको फाइदा उठाउँदै चेम्जोङले बललाई पोष्टको दिशा दिएका थिए ।७६ औ मिनेटमा मार्टीनले गोल गर्दै थ्री स्टारलाई ३–० को अग्रता दिलाएका थिए । मार्टिनले रुपेश केसीको क्रस पासमा गोल गरेका थिए । मार्टिनले गोल गरेको ४ मिनेट वित्न नपाउँदै बिमल घर्तीमगरले अर्को गोल थपे । मध्यभागबाट एक्लै अघि बढेका घर्तीमगरले सहज रुपमा गोल गर्दै अवसरलाई खेर जान दिएनन् ।
संकटाका प्रशिक्षक सल्यान खड्गीले पहिलो हाफमा थ्रीस्टारलाई ‘डोमिनेट’ गर्नसके पनि नतिजा आफ्नो पक्षमा पर्न नसक्नु दर्भाग्यपूर्ण भएको बताए । उनले ‘होल्ड’ गर्दा गर्दै सुरुवाती गोल खानुनै खेलको ‘टर्निङ’ प्वाइन्ट बन्न पुगेको प्रतिक्रिया दिए । ‘एउटा सानो गल्तीले गर्दा सुरुवाती गोल खाइयो,’ उनले भने, ‘एक गोल खाएपछि तालमेल गुमाउँदै खेलाडी हतारिएर खेल्न थाल्नु पनि हारको मुख्य कारण बन्यो ।’
थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले संकटा विरुद्धको उत्कृष्ट प्रदर्शनले नै सहज जित दिलाएको बताए । उनले भने, ‘संकटा विरुद्ध राम्रो प्रदर्शन गरे पनि मनाङसंग जत्तिको उत्कृष्ट प्रदर्शन भने खेलाडीले देखाउन सकेनन् ।’
खेलको म्यान अफ दी म्याच थ्रीस्टारका विमल घर्तीमगर भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए ।