CLASSICTECH NET

भीष्मको ‘आधा उज्यालो’ कविता सङ्ग्रहको परिचर्चा

खबर पूर्वाञ्चल, १६ चैत्र २०७४, शुक्रबार २०:२७

विराटनगर, १६ चैत / कवि भीष्म उप्रेतीको कविता सङ्ग्रह ‘आधा उज्यालो’को आज विराटनगरमा परिचर्चा गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा उप्रेतीको नवौं कविता सङ्ग्रह ‘आधा उज्यालो’माथि परिचर्चा गरिएको हो । तीन दशकभन्दा लामो समयदेखि साहित्यमा सक्रिय उप्रेतीको ‘आधा उज्यालो’लाई सारांश नेपालले प्रकाशित गरेको हो । सङ्ग्रहबारे कवि मनु मञ्जिल र सीमा आभासले धारणा राखे । भीष्मको शैली आफैंमा लोभलाग्दो किसिमको भएको कवि मनु मञ्जिलले धारणा राखे । ‘भीष्म उप्रेतीका भाषा सरल र जीवनको तेजले भरिएका छन्,’ मनुले भने, ‘औसत जीवन हेरेर अचानक परिष्कृत र असाधारण अभिव्यक्ति दिनमा कवि उप्रेती क्षमतावान लाग्छन् ।’

नेपाली कविता साहित्यमा उप्रेतीले आफ्नो छुट्टै पहिचान स्थापित गरेको उनको भनाइ थियो । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कवि सीमा आभासले ‘आधा उज्यालो’ सङ्ग्रहका कविताले पाठकलाई सहजै तान्ने बताइन् । उनले उप्रेतीका कविता पढ्दा रसबरी चपाएजस्तो महसुस हुने विचार राखिन् । कवि उप्रेतीले ‘मृगतृष्णा’, ‘पानी’, ‘स्वतन्त्रता’, ‘मित्र’, ‘पवित्र वागमती नदी’, ‘रहर’, ‘दृश्यचित्र’ र ‘भूल’ शीर्षक कविता वाचन गरे ।

काठमाडौं बसेर साहित्य सिर्जनामा सक्रिय उप्रेतीका कविता, निबन्ध, नियात्रा र उपान्यास गरी १८ वटा कृति प्रकाशित छन् । कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, कविराज न्यौपाने, नारायण तिवारीलगायतले सङ्ग्रहका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५