पूर्वाञ्चल खबर
पूर्व राजाको स्वागतका लागि विराटनगरमा समिति समेत बनेको छ । मोरङ जिविसका पूर्व सभापति बल्लभप्रसाद दाहालको अध्यक्षतामा दुई सय २७ सदस्यीय समिति बनेको छ । समितिमा पूर्व उपप्रधानमन्त्री बद्रीप्रसाद मण्डललगायत रहेका छन् । केही दिनदेखि झापाको दमकमा रहेका पूर्व राजा शाह पत्नी कोमलसहित रामनवमीको अवसर पारेर आइतबार विराटनगर आउने कार्यक्रम तय भएको छ । पूर्व राजाले विराटनगरमा रहेको काली मन्दीर , रामजानकी मन्दिरलगायत विभिन्न मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको मुल स्वागत समारोह समितिका अध्यक्ष वल्लभप्रसाद दाहालले वताए ।
दमकबाट विराटचोक, हरैंचा, झोराहाट हुँदै शाह आइतबार दिउँसो ३ बजे विराटनगर आउने कार्यक्रम तय भएको छ । दाहालले दुई घण्टा विराटनगरमा रहेर साह साँझ ५ बजे दमकतर्फ नै जाने बताए । पूर्व राजाको भ्रमणमा सुरक्षा व्यवस्था कडा पार्न र आवश्यक सुरक्षा प्रबन्ध मिलाउनका लागि सुरक्षा निकायसंग आग्रह गरिने उनले बताए ।